दमक । एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुँदा मंगलबार राती उक्त घटना भएको झापा प्रहरीले जनाएको छ ।
मंगलबार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ वर्षीय बिरन शाहले विवाद हुँदा आफ्नै दाजुको छोरा १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाईते बनाएपछि आफु स्वयंले समेत कन्चटमा चाईनिज पेस्तोलबाट गोली प्रहार गरी हात्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाईते हेमराजको ढाडमा गोली लागेको छ । शाहले दाजुका छोरा हेमराजलाई आफ्नै घर अगाडि सानो चाईनिज पेस्तोल प्रहार गरि घाईते गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । हाल घाईतेको विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।
घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्याजजिन दुई थान गोलीका खोका एक थान र १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दियो ।