सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी खोलालाई विकासको नभई समृद्धिको खोला बनाउनेतर्फ अगाडी बढेको बताएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह–७ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले सुनसरी खोलालाई बाँधमा परिणत गर्नका लागि केन्द्रिय रातो पुस्तकमा परेकोले केही समयपछि सुनसरी खोलाको समस्याबाट सर्वसाधारणहरू मुक्त हुने बताएका हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रलाई मुलुककै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सबै जातजातिको सद्भाव अभिवृद्धि र सम्मान गर्ने संस्कृतिको विकासतर्फ आफू अग्रसर भएको बताए ।
संविधान र लोकतन्त्रको रक्षा, मुलुकको स्थिरता र समृद्धिको दिशातर्फ अग्रसर गराउन लोकतान्त्रिक वाम गठबन्धनको आवश्यक परेको उनको भनाई छ । सरकारमा जानका लागि मात्र नभई आन्तरिक एकता मजबुत बनाउन र राष्ट्रिय एकतालाई सुदृढ गर्न गठबन्धन अपरिहार्य भएकोमा मन्त्री कार्कीको जोड छ ।