इटहरी । नेपाली कांग्रेसका नेता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जातीय सद्भाव भड्काउने किसिमका अभिव्यक्ति नदिनका लागि आग्रह गरेका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट सुनसरी ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीले विपक्षी दलका नेता तथा कार्यकर्तालाई जातीय सद्भाव भड्काउने किसिमका अभिव्यक्ति नदिनका लागि आग्रह गरेका हुन् ।
‘म सँग प्रतिष्पर्धा गर्ने पार्टी र पार्टीका साथीहरूलाई एजेण्डामा छलफल गर्नका निमित्त, विकासबारेमा छलफल गर्नका निमित्त आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘व्यक्तिगत लाञ्छना लगाउने, जातीय सद्भाव भड्काउने काममा नलाग्नका निम्ति पनि आग्रह गर्दछु । ’
उनले आफ्नो व्यक्तिगत स्वार्थका निम्ति जातीय सद्भाव भड्काए दीर्घकालीन समयसम्म समाजमा असर पर्ने बताए ।
आँफूले ०७४ सालमा सुनसरी ४ बाट निर्वाचित भइसकेपछि विकास निर्माणका थुप्रै काम गरेको र अब बाँकी रहेका काम गर्नका लागि पुनः चुनावी मैदानमा होमिएको बताए ।
‘यो क्षेत्रको आवश्यकतालाई महसुस गरी काम गर्नेमा कोहीसँग कुनै सम्झौता हुँदैन,’ कार्कीले कोसी गाउँपालिकाको एक कार्यक्रममा सम्बोधनका क्रममा भने, ‘विगतको पाँच वर्षमा जति काम भएका छन्, अबको पाँच वर्षमा त्यो भन्दा चार गुणा बढी काम गर्नेछु ।’
सुनसरी ४ मा बेरोजगारी र गरिबीको समस्या समाधान गर्न आफ्नो पूर्ण सामथ्र्यका साथ काम गर्ने उनको प्रतिबद्वता छ ।
‘यो क्षेत्रको समस्या समाधानका निम्ति राष्ट्रिय राजनीतिमा तपाईँहरूको उपस्थिति हुनेछ,’ उनले भने, ‘यहाँको समग्र विकास निर्माणको काम, बेरोजगारी र गरिबी न्यूनीकरणका निम्ति पनि मेरो महत्वपूर्ण भूमिका हुनेछ ।’