इटहरी । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरीमा ६३.६२ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै ६३.६२ प्रतिशत मत खसेको हो । आइतबार भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर उक्त प्रतिशत मत खसेको उनले जानकारी दिए ।
‘ठ्याक्कै संख्यामा विवरण आउनका लागि राति १० बज्छ,’ प्रजिअ यादवले भने, ‘आजै राति सर्वदलीय बैठक बसेर आजैबाट मतगणना जारी हुन्छ ।’ प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नं. १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६३.६२ प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको प्रजिअ यादवले बताए । उनका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् ।
सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने उनले बताए । यस्तै, सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने प्रजिअ यादवले बताए ।







