काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई ध्यान दिंदै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।
विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले जानकारी दिए ।
पहिरनलाई जातीय पहिचानका रूपमा लिने बताउँदै अध्यक्ष आशा तामाङले चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोसाक लगाउने बानी बसिसकेकाले मौलिक पहिचान संकटमा पर्दै अगेको बताए ।
उनले भने, ‘विद्यालय आउँदा विद्यालयको पोसाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो । मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय/सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।’
गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् ।