गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो।
इतिहासविद् भरतराज रावत तथा आर्किटेक्ट रोशनी महर्जनसमेत सम्मिलित टोलीले हाल त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा रहेको पुरानो मुढगडा दरबारको उत्खनन गरिरहेको छ।
टोलीले पाँच दिनको उत्खननको क्रममा प्राचीन भग्नावशेष तथा ब्ल्याक स्टोन अर्थात् कालो पत्थर कुँदेर बनाइएका विभिन्न देवदेवीका आकर्षक मूर्तीका टुक्रा, इँटाका टुक्राहरू फेला परेको हो। दरबार क्षेत्रमा ३६ सेन्टिमिटर लामो ३२ सेमी चौडाइ र पाँच सेमि मोटाइको पुरानो इँटाले बनेको नौ मिटर लम्बाइ तथा एक मिटर चौडाइ भएको दरबारको गारो पनि फेला परेको छ।
उत्खननमा फेला परेका अवशेषहरू इसापूर्व पहिलो वा दोस्रो शताब्दीको हुनसक्ने पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए । मोतीगडा स्थानीय बूढापाका र थारू समुदायमा मुढगडाको नामले परिचित छ। थारू किम्बदन्तीअनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानीबीच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामकरण भएको थियो । सोही स्थानलाई अहिले मोतीगडा भनिन्छ।