काठमाडौं । सरकारमा जाने तयारीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने तयारी छ।
सरकारमा पठाउने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो ।
कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ। योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो। सोही आधारमा आज मन्त्री छान्ने तयारी छ ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ ।
दलहरूले आज प्रधानमन्त्री दाहाललाई मन्त्रीको नाम बुझाएमा आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुने सम्भावना छ ।






