काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आइतबार बिहानदेखि मतदान सुरु भएको छ ।
चितवन क्षेत्र नं २ काे उपनिर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने मैदानमा रहेका छन् । उनिहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । बिहान ७ बजेबाट मतदान सुरु भएको छ । त्यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ ।
त्यस्तै तनहुँ क्षेत्र नं १ मा पनि मतदान सुरु भएकाे छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराई, नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्ले चुनावी मैदानमा रहेका छन् । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन् । मतदान साँझ ५ बजेसम्म रहनेछ ।
त्यस्तै बारा क्षेत्र नं २ स्थित सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । हालसम्म करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको निर्वाचन कायाृलयले जानकारी दिएकाे छ ।बारामा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ ।






