तनहुँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन् ।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् । आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन् । दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ ।