विराटनगर । विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति-सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।
यसले शान्ति-सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेला लगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’, जिल्ला प्रशासन कार्यालयले भनेको छ ।
निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन्।
आदेश उल्लंघन गरिए कारबाही हुने पनि प्रशासनले सचेत गराएको छ। आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ।
पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथोल्ने प्रयास गर्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।