महोत्तरी, १० भदौ । लामो समयदेखि एमालेभित्र रहेको तिक्तता र झगडा अन्ततः पार्टी विभाजनमा परिणत भएको छ । एमालेभित्रका दुई शक्तिशाली नेताहरुबीचमा देखिएको यही झगडाका कारणले केपी ओली समूह र माधव नेपाल समूहका नाममा समानान्तर संगठन बनिरहेका बेला औपचारिक रुपमै नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएको छ ।
योसँगै नेपाली राजनीतिक वृत्तमा ओली कि नेपाल शक्तिशाली भन्ने विषयमा अंकगणित सुरु भएको छ । जिल्लादेखि स्थानीय तहसम्म एमाले र समाजवादीका कार्यकर्ता र नेताहरुको टाउको मात्रै गन्न थालिएको छैन, दुवै पार्टीका नेताहरुको जिल्ला र स्थानीय तहमा कस्तो प्रभाव छ भन्ने विषयमा लेखाजोखा गर्न थालिएको छ ।
संख्यात्मक हिसावले हेर्दा महोत्तरीमा एमालेको बढी देखिए पनि पकड भने समाजवादीको देखिन्छ ।
समाजवादी महोत्तरीका सचिव सोमबहादुर कार्कीले एमालेको जतिकै समाजवादी बलियो रहेको दाबी गरे । ‘उनीहरु (एमाले) हामी बलियो छौँ भन्ने देखाउन कार्यक्रम, गोष्ठी आयोजना गरेर देखाउँछन् । तर, हामीले त्यस्तो कार्यक्रम गरेको छैनौँ र पनि हामीहरु नै जिल्लामा बलियो छौँ’, उनले भने ।
अहिले महोत्तरीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी, माओवादी केन्द्रका स्थानीय नेता तथा बर्दिबास–७, का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरसमेत एमालेमा प्रवेश गरेका छन् । यसकारणले पनि जिल्लामा एमाले शक्तिशाली बनेको हो कि भन्ने आंकलन गरिएको छ ।
तर, जनस्तरमा खासै प्रभाव नभएका नेता तथा कार्यकर्ताले शक्तिशालीको मापन गर्न नसक्ने समाजवादीका नेताहरु बताउँछन् । जिल्ला तहमा एमाले एक सय ५२ जनामध्ये २८ जना समाजवादीको पक्षमा छन् । पाटीभित्र आन्तरिक कलह चलिरहेको बेला समानान्तर कमिटी गठन हुँदा पनि बर्दिबास नगरपालिकाबाहेक अन्य पालिकामा भने नेपाल समूह बलियो रहेको नेता सोमबहादुर कार्कीको दाबी छ ।
‘अहिलेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा समाजवादीका नेता तथा कार्यकर्ताहरु स्थिर छन् । कोही पनि एमालेको पक्षमा फर्किएको रिपोर्ट आएको छैन्’, एकजना नेताले भने । समाजवादीसँग एमालेको तुलना नै हुन नसक्ने एमालेका केन्द्रीय सदस्य तथा महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकी बताउँछन् ।
‘अहिले धेरै समाजवादीमा रहेका जिल्ला तहका नेताहरुले पनि एमालेमै फर्किने मनसाय देखाउनुभएको छ । समानान्तर समिति गठन गर्दा २८ जनाको जिल्लास्तरीय कम्रेडहरु हुनुहुन्थ्यो, अहिले त्यो संख्या घटेर १५ मा झरेको छ’, उनले भने ।
सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुक पनि एमालेमा प्रवेश गर्ने तयारी भइरहेको नेता बलाम्पाकीको भनाइ छ । ‘स्थानीयदेखि जिल्ला तहसम्म जनस्तरमा राम्रो पकड भएका नेताहरुले एमाले नै रोज्नुभएको हुनाले हामीलाई समाजवादीसँग तुलना नै गर्न मिल्दैन’, उनले भने ।







