काठमाडाैँ, १५ भाद्र । धनकुटाको भेडेटारमा सम्पन्न १ नम्वर प्रदेशका नेपाली कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेलाले आसन्न काँग्रेस महाधिवेशनमा वडा तह देखी केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन माग गर्दै १३ बुँदे भेडेटार घोषणा पत्र जारी गरेकाे छ।
नेपाली कांग्रेस मोरंगका जिल्ला सचिव नागेस कोईरालाको संयोजकत्वमा सम्पन्न भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गरेका थिए। जिल्ला सचिवहरुको भेलाको औचित्यमाथि नेपाली कांग्रेस तेह्थुमका जिल्ला सचिव सन्तोष सुब्बा, संखुवासभाका जिल्ला सचिव डम्वर वस्नेत, भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगरले प्रकाश पार्दै यस भेलाले जिल्ला सचिवहरुको अनुभव आदन प्रदान भएको र सहकार्य तथा सहयोगको प्रारम्भ भएको वताएका छन्। यसैगरी नेपाली कांग्रेस झापाका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामांङ्ग, संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ्ग र सुनसरीका जिल्ला सहसचिव नगेशचन्द्र राई लगायतले जिल्ला सचिवहरुको भेलाले नेपाली कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निभाउने वताएका छन्।
भेलामा नेपाली कांग्रेसका यूवा नेता नेविसं संघका पूर्व केन्द्रिय महामन्त्री उमेशजंग रायमाझी, नेपाली कांग्रेस धनकुटाका प्रदेश सभा १ का क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।
भेलाले जारी गरेकाे भडेटार घोषणा पत्रमा नेपाली काँग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन र नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नविन उर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहवाट सिफारिस भई आएको आधारलाई मानी विवाद समाधान गरी आसन्न १४ औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न भेलाले जोडदार माग गरेको उल्लेख गरिएको छ।
पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन समेत घोषणा पत्रमा उल्लेख गरिएको छ। सिंगो मुलुक कोभिड १९ (कोरोना) बाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाईरहेको अवस्था रहेकोले जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न यो भेला जोडदार माग कांग्रेसका जिल्ला सचिवहरुले माग गरेका छन्।