हुम्ला । दुई वर्षदेखि चीनको पुराङ काउन्टीको ताक्लाकोटमा काम गर्दै आएका हुम्लावासीले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन् ।
ताक्लाकोटमा रहेर काम तथा व्यापार व्यवसाय गर्दै आएका हुम्लावासीलाई पेसागत संगठन कैलाश व्यापार संघको समन्वयमा भेरोसेल खोप लगाइएको हो ।
हाल ताक्लाकोट बस्दै आएका जंगबहादुर लामाले लामो समयको प्रयासपछि हुम्लावासीले कोरोनाविरुद्धको पहिलो चरणको भेरोसेल खोप लगाउन पाएको बताए ।
जिल्ला प्रशासन कार्यालयबाट सीमा पास लिएर सातवटै गाउँपालिकाका स्थानीय विभिन्न काम र व्यापारका लागि चीनको पुराङ काउन्टी ताक्लाकोट जाने गर्छन् ।
कोभिडको संक्रमण बढेपछि दुई वर्षयता चीनको ताक्लाकोट प्रवेशमा रोक लगाइएको छ ।