काबुल, १३ भदौ । तालिवानले सम्पूर्ण अफगानिस्तानलाई नियन्त्रणमा लिएको दाबी गरे पनि देशको उत्तरपूर्वी प्रान्त पन्जशिरमा उसले अहिलेसम्म कुनै गतिविधि चलाउन सकेको छैन् ।
पन्जशिरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशिर प्रान्तका मुख्य नेता अहमद मसुद हुन्।
सो प्रान्तमा तालिवानको शुन्य प्रभाव रहेको विवरण सार्वजनिक भइरहेका बेला आईतबार उसले आफ्ना केही लडाकू त्यसतर्फ बढेको दाबी गरेको थियो । तर, मसुदका समर्थकले तालिवानी दाबी गलत भएको भन्दै पन्जशिरमा कोही प्रवेश नगरेको प्रष्ट पारेको छ ।
‘पन्जशिरमा कोही तालिवान पसेको छैन र कुनै मुठभेड भएको छैन्,’ रेसिस्टेन्ट फ्रन्टका मोहम्द अलमास जहिदले भने । आफ्नो प्रान्तमा तालिवान आए लखेटेरे खुट्टा भाँचिदिने फ्रन्टका सदस्यहरुले चेतावनी दिएका छन् ।
प्रान्तीय नेता अहमद मसुद र अम्रुल्लाह सालेहले बषौंदेखि तालिवानलाई चुनौती दिदै आएका छन् । अहमद प्रख्यात अफगानी कमाण्डर अहमद साह मुसदका छोरा हुन् भने सालेह पूर्व अफगान सरकारका प्रथम उपराष्ट्रपति हुन् ।
चारैतिर डाँडाको मध्ये भागमा रहेको मैदानयुक्त पन्जशिरका लडाकूले तालिवानबाट जोगाउन रणनीतिक युद्ध गर्दै आएका छन् । फ्रन्टका सदस्यले कुनै बेला पहाडको चुच्चोबाट मेसिन गन हानेर तालिवान लडाकू लखेटेका थिए । हिन्द कुश पहाडभित्र पर्ने पन्जशिर उपत्यका राजधानी काबुलबाट ९० माइल टाढा पर्छ ।