इस्लामावाद । भीषण वर्षाका कारण पाकिस्तानको एक तिहाइ क्षेत्र डुबानमा परेको जलवायुमन्त्रीले बताएका छन्।
गएको जुन मध्ययता पाकिस्तानमा भीषण वर्षाका कारण बाढी तथा डुबानको समस्या भयावह बनेको छ।
देशको एक तिहाइ क्षेत्र बाढी तथा डुबानको चपेटमा आएको र जनजीवन गम्भीर रूपमा प्रभावित भएको पाकिस्तानका जलवायुमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विनाशकारी बाढीले बाटो, घर तथा बाली बगाएको छ। जलवायुमन्त्री शेरी रेहमानले भनेका छन्, ‘डुबान भएको क्षेत्र ठूलो समुद्र जस्तो छ, पानी फाल्नका लागि सुख्खा जमिन नै छैन।’
यो बर्खामा पाकिस्तानमा बाढीका कारण कम्तीमा ११ सय ३६ जनाकाे मृत्यु भइसकेको छ। भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।
जलवायु परिवर्तनको प्रभावका कारण भारी वर्षा भएको र त्यसले ठूलो क्षति बेहोर्नु परेको पाकिस्तान सरकारले दाबी गरेको छ।







