काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल आक्रमणको विश्वभर निन्दा भएको छ ।
अमेरिकाले यो घटनालाई क्रुर हमलाको संज्ञा दिंदै रुसको रबैयाको तीब्र विरोध गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारबाही ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको भन्दै रुसले यसको नराम्रो परिणाम भोग्ने चेतावनी दिए ।
युक्रेनमा रुसको आक्रमणले ‘गम्भीर नैतिक मुद्दा’ प्रस्तुत गरेको भन्दै विदेशमन्त्री ब्लिन्केनले पुटिनका कार्यहरूप्रति विश्व जगतको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टिनियो गुटेरेसले यो घटनाले आफूलाई गहिरो चोट पुगेको प्रतिक्रिया दिनुभएको छ । रुसले युक्रेनका विभिन्न शहरमा मिसाइल आक्रमण गर्दा दर्जन बढीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।
रुस युक्रेन युद्ध सुरु भए यता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दूरीका क्षेप्यास्त्रबाट आक्रमण गरिएको हो । युक्रेनका लवीव, तर्नोपिल, इभानो–फ्रान्किभस्क, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूमा पनि शक्तिशाली विस्फोट गराइएको छ ।
रुसलाई क्राइमियासँग जोड्ने पुलमा युक्रेनी आक्रमणकारीले विष्फोट गराई क्षति पुर्याएपछि रुसले त्यसको बदला लिइरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया पुलमा आक्रमणका लागि युक्रेनी गुप्तचरलाई जिम्मेवार ठहर्याउँदै त्यसको बदला लिने बताए लगत्तै आक्रमण सुरु भएको हो ।







