एजेन्सी २४ साउन । तालिबान विद्रोही संगठनले दोस्रो प्रान्तीय राजधानीमा पनि आफ्नो कब्जा गरेको छ । अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिबानले दोस्रो प्रान्तीय राजधानीमा पनि कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन् । इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै यो तालिबान विद्रोही संगठनको अर्को कब्जा हो ।
उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफूले नियन्त्रण गरेको तालिबानले बताए पनि फगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने जानकारी दिएका छन् ।
त्यहाँका स्थानीयहरुले जानकारी गराए पछिल्ला केही सातादेखि अमेरिकी तथा विदेशी सेनाहरुको अन्तिम समूह फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो । उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।
शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका थिए । तालिबान समूहले प्रान्तीय राजधानीसमेत कब्जा गरेपछि अफगान अधिकारीहरु ठूलो चुनौती थपिएको आंकलन गरिएको छ ।
जरन्ज एउटा ठूलो व्यापारिक केन्द्रसमेत हो जुन इरानको सीमासँग जोडिएको छ । सहर कब्जाका लागि संघर्ष गरिरहेका तालिबानको समुहले आसपासका जिल्ला कब्जा गरिसकेपछि निमरोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेका थिए ।
एजेन्सीहरुका अनुसार पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि तालिबानको निरन्तर दबाबमा भएका कारण ती क्षेत्रमा सरकारी सुरक्षा बललाई नियन्त्रण कायम गरिरहन गाह्रो परिरहेको छ ।







