ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अब हिजोको जस्तो एकता हुँदैन, अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १३:३३ बजे
अब हिजोको जस्तो एकता हुँदैन, अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली
25
SHARES
Share on FacebookShare on Twitter

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक शक्ति र परिचर्चाको केन्द्रमा छन्। साविक नेकपामा बहुमत केन्द्रीय सदस्यको घेराबन्दीमा परेका उनले अन्त्यमा प्रतिनिधिसभा विघटन गरे। सर्वोच्च अदालतले त्यसलाई पुनःस्थापना गरेपछि धेरैको अड्कल थियो– ओलीको राजनीतिक भविष्य संकटमा पर्‍यो। तर, अचानक सर्वोच्चले अर्को फैसला गर्‍यो, जसले एमाले र माओवादीलाई एकता टुटाइदिएर पुरानै ठाउँमा फर्काइदियो। त्यसले फेरि ओलीलाई नै शक्तिशाली बनायो। यद्यपि, पुनःस्थापित एमाले गुटगत राजनीतिले छिया–छिया भएको छ। संगठित बनाउने दायित्व अब अध्यक्ष ओलीकै काँधमा छ।


नेकपाको अध्यक्षबाट नेकपा (एमाले) को अध्यक्षमा ओर्लिनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
नेकपाको अध्यक्षबाट त मलाई सडकबाट निकाले रे भन्ने सुनेको छु। अहिले पुनःस्थापनाको लहर छ। प्रतिनिधिसभा पुनःस्थापना हुन्छ। अध्यक्ष पुनःस्थापना हुन्छ। म पनि पुनःस्थापना भएको पार्टीको पुनःस्थापित अध्यक्ष हुँ। यसमा मलाई कस्तो पनि लागेन। वस्तुतः पार्टी फुटेको थियो। फुटेको पार्टी के–कसरी फुट्ने भन्ने थियो। त्यसलाई अदालतले विधि र प्रक्रिया पुर्‍याइदियो। नाम जुधाएर पार्टी दर्ता गरिएको रहेछ। त्यसलाई ‘अनुचित प्रभाव’ का आधारमा दर्ता गरिएको भन्ने अदालतले अनुभूत गरेको पाइयो। अर्काका नाममा दल दर्ता गर्ने बलमिच्याइँपूर्ण काम भएको अदालतले ठानेजस्तो लाग्छ। नमागेको न्याय दियो पनि कसैले भने। प्रतिनिधिसभा पुनःस्थापनाको माग उहाँहरूले गर्नुभएको थियो। १३ दिनभित्र बैठक बोलाउनु भन्ने नमागेको त्यहाँ पनि दियो। त्यस्तै हुन्छ सहपरिणाम।

कस्तो पनि लागेन भन्नुभयो। तर, झन्डै दुईतिहाइ बहुमतबाट झन्डै बहुमतमा झर्नुभयो, यो केही त हो नि ?
हो। तर, एउटा अभ्यास र प्रयास गरियो। नेपालमा एकीकृत कम्युनिस्ट आन्दोलन जरुरी थियो। जरुरी छ। मैले कोसिस गरें। एकजुट बनाएँ। त्यस स्थितिलाई दुरूपयोग गरेर कम्युनिस्ट आन्दोलन र त्यसको नेतृत्वलाई खत्तम पार्ने षड्यन्त्र सुरु भयो। त्यसलाई रोक्न र असफल पार्न मैले कोसिस गरें। पार्टी बचाउने कोसिस गरें। भएन। मलाई त संसदीय दलको नेताबाट सडकबाटै निकालिएको भन्ने उद्घोष गरिएको थियो। सडकमै पार्टी अध्यक्षबाट निकालिएको, सडकमै पार्टीको साधारण सदस्यबाट निकालिएको मान्छे हुँ। जो सडकबाट निकालिएको छ; उसलाई झन्डै बहुमतमा पुग्दा कुनचाहिँ ठूलो कुरा भयो र ? गरेको प्रयास धुलोमा मिलाउने, डस्टबिनमा फाल्ने थियो। तर, अहिले पनि देशको सबैभन्दा ठूलो दलको अध्यक्ष र संसदीय दलको नेता म छु।

प्रतिनिधिसभा विघटनको अलोकप्रिय निर्णय नरोजेको भए हुन्न थियो ? 
तपाईंरूले पाँचजनाको गुटबन्दीको शृंखला सुन्नु नै भयो। विधि, पद्धति र प्रक्रिया आदि सुन्नुभयो। र, बहुमतले निर्णय गर्छ, अल्पमतले मान्नुपर्छ भनेको पनि खुब सुन्नुभयो। एकीकरणका लागि बनाइएको एउटा संरचनाभित्र सहमतिसाथ चल्नुपर्ने समझदारी र वैधानिक व्यवस्थाविपरीत अनेकता र फाटोतर्फको यात्रा तय गर्नु गैरजिम्मेवार, समयको मागविपरीत, वैधानिक व्यवस्था र देशको आवश्यकताविपरीत काम–कारबाही थिए। तिनले ब्याक्टेरिया भरेर विकृत गर्दै औंस्या पार्दै गए। त्यो औंस्याले घाउ बढ्दै गयो। र, आज यस स्थितिमा आइपुग्यो। तिनै कारणले गर्दा प्रतिनिधिसभा भंग गर्नुपरेको थियो।

अहिले पनि देशको सबैभन्दा ठूलो दलका अध्यक्ष र संसदीय दलका नेता म छु।

विघटनलाई तपाईं अझै ठीक भनिरहनुभएको छ ? 
निर्वाचन हुनु, ताजा जनादेशमा जानु संविधान च्यातिनु हो, कुल्चिनु हो, मासिनु हो, लोकतन्त्र खतरामा पर्नु हो, तानाशाही लादिनु हो, गणतन्त्र खत्तम हुनु हो आदि व्याख्या सडकमा खुब कराइए। के चुनावमा जाँदा संविधान खतरामा पर्छ ? लोकतन्त्र खतरामा पर्छ ? चुनावबाट आएको र चुनावबाट ताजगी लिइरहने व्यवस्था हो यो। मूलतः लोकतन्त्र निर्वाचनमा बाँचेको हुन्छ। निर्वाचन त लोकतन्त्रको प्राण हो। ज्यान हो।

विघटन गरेर गल्ती गरें भन्ने लागेको छैन ?
विघटन त अपरिहार्य आवश्यकता थियो देशमा। यतिबेला चुनावको माहोल हुन्थ्यो। जनतामा चुनाव लागिसकेको थियो। यतिञ्जेल अर्कै उल्लासमय वातावरण हुन्थ्यो। यो कुना र ऊ कुनामा दुई–चारजनाले बसेर खस्याकखुसुक गर्ने, अल्लो टाकुरो र पल्लो टाकुरो हल्लाखल्ला गर्नेभन्दा त जनताको अदालतमा जान्थ्यो कुरो।

तर, सर्वोच्च अदालतले त्यसको बेला भएको थिएन भन्ने देखायो नि, होइन ?
एक समयको सर्वोच्चको फैसला यो आयो।

ब्याक्टेरियाले औंस्या पार्दै गए र प्रतिनिधिसभा भंग गर्नुपरेको थियो।

अर्को समय फेरि अर्कै आउन सक्छ ?
त्यो त संविधानको व्याख्या सर्वोच्चले गर्ने हो। यसपालि सर्वोच्चले व्याख्या गर्ने आफ्नो अधिकार फैसलाबाट अलि छाडिदिएको देखिन्छ। व्याख्या नगरेर ‘लेखेको छैन’ भन्यो। लेखेको मात्रैलाई त व्याख्यै गर्नु पर्दैन। लेखेकै कुराका लागि मात्र त पाँचजनाको संवैधानिक इजलासले महिनौं माथापच्ची किन गर्नुपर्‍यो ? सयौं वकिलले लामा–लामा बहस किन गर्नुपर्‍यो ? सर्वोच्चले व्याख्या गर्दा जीवित संविधानको जीवित व्याख्या हुन्थ्यो। ‘लेखेकै मात्र’ कुराले सजीव कार्यान्वयन भएन, मृत कार्यान्वयन भयो। अदालतले व्याख्या गर्न किन खोजेन, त्यो त म जान्दिनँ। तर, सर्वोच्चको काम व्याख्या गर्ने होइन, लेखेकोलाई भनिदिने हो भन्ने अर्थ निस्किने खालको देख्छु। म कानुनको विद्यार्थी होइन, कानुनको पालना गर्ने मान्छे हुँ।

तपाईं अहिले संविधानको धारा ७६(१) कि ७६(२) अन्तर्गतको प्रधानमन्त्री हो ?
७६(२)। पार्टी अलग–अलग हुनेबित्तिकै ७६(१) सकियो।

अब माओवादीले समर्थन फिर्ता लियो भने तपाईंको रणनीति के हुनेछ ?
माओवादीले समर्थन फिर्ता लिएमा दुई वा दुईभन्दा बढी दलको सरकार असफल हुन्छ। त्यसपछि सम्भवतः धारा ७६(३) मा जानुपर्ला कि। त्यो भनेको ठूलो पार्टीको सरकार हो। ठूलो पार्टी मेरै हो।

त्यस्तो अवस्थामा विश्वासको मत पाउने हिम्मत छ ?
पर्‍यो भने लिइदिउँला। तर, ७६(२) अनुसार मैले समर्थन प्राप्त गर्न सकिनँ भने ७६(३) अनुसार गर्नु नाटक मात्र हो, फेरि प्राप्त हुँदैन। कोही एकजना व्यक्तिले बहुमतको हस्ताक्षर लिएर जाने अवस्था पनि छैन। त्यसैले अन्ततः चुनावमा जानु अनिवार्य हुन्छ।

लेखेकै कुराका लागि मात्र त पाँच जनाको संवैधानिक इजलासले महिनौं माथापच्ची किन गर्नुपर्‍यो ?

प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेका बेला तपाईंले ‘सेटिङ’ मिलाएका परिचर्चा सडकमै उठ्थे, के ‘सेटिङ’ भत्किएको हो ? कि कसरी परिणाम उल्टो आयो ?
त्यस्ता झूटा आरोप कस्ता ‘ग्राउन्ड’ मा लगाइँदा रहेछन् भन्ने तपाईंहरूले देख्नुभयो। म मुद्दा हाल्न अदालत गएको छु ? निर्वाचन आयोग गएको छु ? सरकारविरुद्ध मुद्दा हाल्न कहिले सभामुख कुद्नुभएको छ, कहिले दलका नेताहरू कुदेका छन्। कहिले ‘हामी यहाँ छौं’ भनेर छातीमा टाँसेर बसेका छन्। यी तमासा मैले गरेको छु ? म राजनीतिक मान्छे हुँ, राजनीति गर्छु। म झगडिया होइन।

प्रतिनिधिसभा विघटन बदरको सर्वोच्चले फैसला गर्दा तपाईंको जन्मोत्सव चलिरहेको थियो, कस्तो लाग्यो ?
मेरो जन्मोत्सव मेरो ठाउँमा थियो, अदालतको फैसला अदालतको ठाउँमा थियो।

त्यो निर्णयले तपाईंको मुहारमा कुनै तनाव वा निराशा वा असन्तोष वा आवेग देखिएन। सदा प्रसन्नता र हक्की भाव कसरी आर्जन गर्नुहुन्छ ?
सर्वोच्च अदालतको फैसला एउटा संवैधानिक प्रक्रिया हो। हामीकहाँ शक्ति पृथकीकरण र स्वतन्त्र न्यायालय छ। स्वतन्त्र न्यायालय भएको ठाउँमा न्यायाधीशले आफ्नो बुद्धिले देखेको गर्ने हो। संविधानमा यस्तो छ, त्यसैले यस्तो हो भन्ने हो। यही कुरालाई आकाशै खस्योजस्तो गरेर किन ठान्नु र ? त्यही प्रतिनिधिसभा पुनःस्थापना भएको न हो। मैले भनेकै थिएँ– यो संसद् रहिरह्यो भने प्रधानमन्त्री खोज्न कुद्छ, समीकरण बनाउन कुद्छ, किनबेच गर्न कुद्छ र मान्छे घिसारेर लगेर होटलमा थुन्न कुद्छ। त्यो त देखियो नि। पुनःस्थापना भयो भन्दै नाचेको देखियो। अबिर जात्रा गरेको देखियो। फेरि नभनौंला भन्यो, भन्नुपर्ने हुन्छ– लड्डु खुवाइखुवाइ गरेको देखियो। त्यहाँबाट चितवनको कार्यक्रम छाडेर हाँपझाँप गर्दै लौ न प्रधानमन्त्रीत्व स्वीकारिदिनुपर्‍यो भनेर कुद्नुपर्ने दिन आयो। यता मान्छे तान्नुपर्ने, उता तान्नुपर्ने। यता सही गराउनुपर्ने, उता सही गराउनुपर्ने। यो सब तमासा त हुनु नै थियो। देश विकासमा लगाउनुपर्ने अमूल्य समय यस्तै अल्झनमा सकिने भयो। त्यसकारण म जनतामा गएको थिएँ।

तपाईंको कार्यकाल सत्ता बचाउको तानाबानामै सकिने भयो त ? कामचाहिँ नगर्ने प्रधानमन्त्रीज्यू ?
यसरी त जाँदैन। म जहिल्यै आफ्नो बाटो हिँडिराखेको हुन्छु। म विकास निर्माणका काम गरिराखेको हुन्छु। धेरै गरेको छु।

केपी ओलीको राजनीतिक निपुणता, सर्वज्ञान सम्पन्नता, नेतृत्वको खुबीजस्ता गुणको उपयोग राष्ट्र निर्माणमा पूर्णरूपमा उपयोग हुन किन सकेन ?
के निपुणता हुनु म बिचराको ! अदालतले फैसला गरिदिएर अध्यक्ष भएको छु। नत्र भने सडकमा पुर्‍याइदिएका थिए। भन्छन् है उनीहरूले भन्दा। सडकमै त के पुर्‍याउँथे। यसको राजनीतिक जीवन नै समाप्त भयो भनेका होइनन् ? कुहेको अन्डा हो गाड्नुपर्छ भन्दै कुर्लिएका होइनन् ? निर्वाचन आयोगले पार्टी र सूर्य चिह्न दिन्छ भन्दै डुक्रिएका होइनन् ? मलाई कसैले चुनाव चिह्न त्रिशूल दिएको होइन ? हातमा कमण्डलु राखिदिएको होइन ? वस्त्र कस्तो दिएको थियो मलाई ? सोझो भएर चुप लागेर बस्दा पनि फेरि ठाउँमा आइपुगिन्छ नि।

नेकपा फुटको परिस्थिति आउनुमा दोष अरूलाई मात्र दिएर पन्छिन पाइन्छ, प्रधानमन्त्रीज्यू ? तपाईंका पनि त गल्ती होलान् ?
अँ, मेरो दोष के हो भने– एकीकरण गर्दा यो तमासा हुने हैसियतमा उनीहरूलाई ठाउँ दिएँ नि, त्यहाँ गल्ती भयो। त्यो हैसियत नदिएको भए त उनीहरूले यस्तो बितन्डा गर्न सक्ने थिएनन्। एकीकरणका नाममा मैले लगेर ड्याम्मै संख्या राखिदिएँ। मैले सिंह बनाइदिएँ। अनि, ह्वाङ्ङ झम्टिइहाल्यो। फेरि हतार–हतार मैले पूर्वावस्थामा फर्की जा भनिदिएँ।

यत्रायत्रा ठूला गल्ती गरेर, पार्टी धुलो पार्न खोजेर, अपराध गरेर, विध्वंस मच्चाएर फेरि पनि उहाँहरूले ठूला कुरा गरेको देख्दा झनै अचम्म लाग्छ।

त्यो त सर्वोच्चले भनेको हो नि….
केही सर्वोच्चले गर्‍यो। केही मैले गरें। सर्वोच्चले मात्रै गर्दा त म ठिङ्ग्रिङ्ग एक्लो अध्यक्ष हुन्थें होला नि। मसँग बहुमत हुँदैनथ्यो होला।

तपाईं दाहाल–नेपाललाई बहुमतको धाक लगाए भन्नुहुन्थ्यो, अहिले आफैं त्यस्तो धाक लगाउन थाल्नुभयो त ?
अनि, उहाँहरूले हामीसँग बहुमत छ, बहुमतले निर्णय गर्छ भन्नुभएको होइन ? सहमतिमा मिलेर चल्नुपर्ने अवस्थामा चाहिँ उहाँहरूले ‘बहुमतको अधीनमा अल्पमत हुन्छ’ बहुमतको डंका पिट्ने, अहिलेचाहिँ बहुमतसँग किन डराउने ?

रामबहादुर थापासहित माओवादीका नेताहरूलाई कसरी एमालेमा रोक्न सक्नुभयो ?
राजनीतिक मान्छेहरू आफैं गन्तव्य, उद्देश्य र आदर्श के हो भन्ने पहिल्याउन सक्षम हुन्छन्। यो उहाँहरू आफैंले छनोट गर्नुभएको हो, मैले रोकेको होइन।

एमालेको पुनः अध्यक्ष हुनेबित्तिकै माधव नेपाल र उहाँका मान्छेलाई जिम्मेवारीबाट विमुख गराइदिनुभयो। यो निर्णय अलि आवेशमा आएजस्तो देखिएन ?
पुसको पहिलो हप्ताको अन्त्यतिर उहाँहरूले पार्टी छाड्नुभयो। त्यसपछि त्यसलाई प्रचण्ड—माधव (दाहाल—नेपाल) गुट भन्थे। उहाँहरूले नयाँ गुट बनाएपछि झनै पार्टीमा नयाँ जीवनी सुरु भएजस्तो र कार्यकर्तामा नयाँ जोस पलाएजस्तो भयो। फेरि दत्र्ता खारेज भएपछि पार्टी आआफ्नो ठाउँमा फर्किए। तर तत्कालै उहाँहरू पार्टीमा फर्किनुभएन। जब कि अदालतको फैसलालगत्तै उहाँहरू पार्टीमा फर्किनुपर्थ्यो। कार्यालयमा आउनुपर्थ्यो। अध्यक्षसँग सम्पर्क गर्नुपर्थ्यो। हराएको अढाई महिना भएका मान्छे त यहाँ छौं भनेर भन्नुपर्थ्यो। अहिले त कहाँ हुनुहुन्छ भन्ने थाहा नहुने स्थिति छ। पहिला त माइतीघरमा यसो यहाँ छौं भनेर टाँसेर बस्नुहुन्थ्यो। अहिले त टाँस्दा पनि टाँस्नुहुन्न। कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ ? त्यो स्थितिमा पार्टी त अगाडि बढ्नुपर्‍यो नि। तीन वर्षअगाडिको पार्टी। महाधिवेशनको पनि समय भइसक्यो छ वस्तुतः। यो एकीकरणको कानुनले लम्बिएको थियो। त्यसलाई महाधिवेशन गर्नुपर्ने छ। महाधिवेशन समिति बनाउनुपर्ने छ। महाधिवेशनको आयोजना गर्नुपर्ने छ। र, महाधिवेशन गर्दा उहाँहरूका मात्रै पद गएको होइन नि त। अरूको पनि गएको होला नि पद। आयोजक समिति बनाएपछि संयोजक हुन्छ। बाँकी संगठनात्मक काम गर्न महासचिव राखिएको छ।

उहाँहरूको चित्त दुखाइ यसमै छ, मिलाएर लैजाँदा हुन्न ? 
अर्कातिर उहाँहरूले त छाडिएको पार्टी हो। छाडेको पार्टीको पदको कति चिन्ता गरिराख्या ? फेरि महाधिवेशनबाट आए भइहाल्यो नि। उहाँहरूलाई मात्रै हटाइएको होइन नि। अरूका पनि पद गएको छ। स्थायी कमिटीका सदस्य, पोलिटिब्युरोका सदस्य सबै गएका छन्। महाधिवेशन आयोजक कमिटी बनेको छ। उहाँहरूलाई मात्रै ताकेर हानेको त होइन।

तपाईंका निर्णय खारेज गराउन उहाँहरूले निर्वाचन आयोग गुहारिसक्नुभयो नि ? 
उहाँहरूमा झगडियाको बानी परिसक्यो। एउटाले कुट्यो कि त्यो केटाकेटी कस्तो हुन्छ भने, सबै केटाकेटीमा हुँदैन। झगडा गर्छ निहुँ खोज्छ अनि हारेपछि  कुदेर आमाकहाँ जान्छ अनि आमा मलाई कुट्यो भनेर पोल लगाउँछ। उहाँहरूको बानी नै त्यस्तै हो। कहिले अदालत, कहिले कहाँ पुग्या छ। सरकारविरुद्ध मुद्दा हाल्न सभामुख पुगेको देख्दा त अचम्म लाग्छ।

उहाँहरू आयोग जानुभयो, तपाईंविरुद्ध ११ जनाले विज्ञप्ति निकाल्नुभयो। भोलिपल्टै तपाईंले भेट्नु भयो। यो परिस्थिति कसरी विकास भयो ?
मैले बोलाएर उहाँहरूका कुरा सुन्न खोजेको हो। उहाँहरूलाई सम्झाउन खोजेको हो। उहाँहरूले गल्ती महसुस गर्नुपर्छ। साह्रै बितण्डा गर्नुभएको छ। एकीकरणलाई भंग गर्ने अवस्थासम्म उहाँहरूले पुर्‍याउनुभयो। दुईतिहाइको सरकार चुप लागेर चल्न दिएको भए त चलिरहेकै थियो नि। एउटै पार्टी एकताका साथ गएको भए नामको कुरा ठूलो थिएन। उहाँहरूले शत्रुतापूर्ण सम्बन्धको स्थिति सिर्जना गरिदिनुभयो। कुटाकुट गराएर कार्यकर्ता मराउनुभयो। घृणा फैलाउने कामसम्म गर्नुभयो। अदालतले फैसला गर्नेबित्तिकै पार्टी अलग भएकै थियो। अलग भएकोलाई पनि फेरि टुक्राइदियो।

पशुपतिको पूजा गरेर कसैको गद्दी गएको पनि होइन र कोही नागार्जुन पुगेको पनि होइन।

नेपाल समूहसँगको भेटघाटले अवस्था केही सकारात्मक बनेको हो ? पार्टी एक ढिक्का हुन सक्छ अब ?
उहाँहरूले आफ्ना कमीकमजोरी नस्वीकारेको देख्दा अचम्म लाग्छ। यत्रायत्रा ठूला गल्ती गरेर, पार्टी धुलो पार्न खोजेर, अपराध गरेर, विध्वंस मच्चाएर फेरि पनि उहाँहरूले ठूला कुरा गरेको देख्दा झनै अचम्म लाग्छ। उल्टो मैले पो गल्ती महसुस गरिदिनुपर्ने। मैले केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिनुपर्ने। उहाँहरूका पगरी लगेर फेरि टाउका—टाउकामा थपक्क राखिदिनुपर्ने। उहाँहरूलाई यथोचित मानसम्मान दिनुपर्ने। मैले मसिनो स्वरमा बोल्नुपर्ने। उहाँहरूले चर्का स्वरमा बोल्न पाउनुपर्ने। उहाँहरूले जे भन्यो त्यही निर्णय हुनुपर्ने। बहुमतले निर्णय गर्न नपाउने। यस्तो पनि हुन्छ ? पहिले त उहाँहरू नै बहुमतको धाक लगाउनु हुन्थ्यो। आज फेरि उहाँहरू नै बहुमतले निर्णय गर्न पाइँदैन भनेर भन्नुहुन्छ। यो कहाँको पद्धति हो ? मैले बुझ्न सकेको छैन।

भेटमा तपाईंले के भन्नुभयो ? 
तपाईंहरू गल्ती महसुस गर्नुस् र अब गल्ती नगर्ने प्रतिबद्धतासहित काममा लाग्नुस्, पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं, हामी सबै आआफ्ना थान्कामा बसौं भनेर प्रस्ताव राखें। तर, उहाँहरूको काम गर्न पार्टीमा आउने मनसाय देखिनँ। फेरि आएर पार्टी कब्जा गर्ने मनसाय उहाँहरूको देखियो। बुटवलको भाषण र हिजोअस्तिको पार्टी कब्जा गर्ने भाषणजस्तै अहिले पनि उहाँहरूको दिमागमा त्यही सपनाको रिल चलेजस्तो देखिन्छ। मेरो विचारमा त्यो सम्भव छैन।

माओवादी अलग्गिएर जाँदा पक्कै हाइसञ्चो भयो होला….
माओवादी त अलग भएकै थियो। माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो। जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ। माओवादीका अरू साथीहरू अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ। प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ। निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ। तर, अब हिजोको जस्तो एकता हुँदैन। किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्‍यो भने त्यसको परिणाम राम्रो आउँदो रहेनछ भन्ने मैले देखिसकें। उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ।

त्यो सम्भावना देख्नुहुन्छ ?
उनीहरूले माने भने सम्भावना हुन्छ। तर, सबैले स्पस्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ। अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखें। बहुमत बनाइदिएँ उनीहरूको मैले। एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ। त्यो  उहाँहरूले मान्नुभएन। बहुमत हुनेबित्तिकै उहाँहरू छुरी लिएर रेट्न थालिहाल्नुभयो। मेरो त हातखुट्टा समाइहाल्नुभयो। रेटिएर मारिन मान्छस् कि मार हान्छौं छ्याम्म पारेर,  त्योचाहिँ मान्छस्, लु रोज् भन्न थाल्नुभयो।  मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ।

तस्बिर : सुनिता डंगोल

कुनै दिन कुनै बिन्दुमा पुगेर यस्तो अप्ठ्यारो आउन सक्छ भन्ने लागेको थियो कि थिएन पहिल्यै ?
अप्ठ्यारोमा के पार्छन् यिनीहरूले ? यी सबै भनेका त तिकडम मात्र हुन्। तिकडमले कुनै अप्ठ्यारो पार्दैन। अप्ठ्यारोमा पार्ने भनेको राजनीतिले हो। म राजनीति गर्ने मान्छु हुँ। अप्ठ्यारोमा पार्छौं, समाप्त पार्छौं भनेकै बेलामा उल्टो पार्टीको पक्षमा जनउभार उर्लियो त।

वामदेव गौतमको एकता अभियान अहिले कहाँ पुग्यो ?
यो प्रश्न त उहाँलाई नै सोध्नुपर्छ। त्यहीं खुमलटारमै बस्नु हुन्छ। यसको जवाफ त उहाँले नै दिन सक्नुहुन्छ।

यसको भविष्य के हुन्छ भन्नेबारे तपाईंलाई पनि केही त जानकारी होला नि ? उहाँकै पहलमा एकता सम्भव हुन्छ कि हुँदैन ?
उहाँले एकताका लागि कहाँ पहल गर्नुभएको छ र ?

अब ७ गतेको बैठकमा उहाँहरू आउने वातावरण बनेको हो ?
बैठकमा आउन मैले सार्वजनिक रूपमै आह्वान गरिसकेको छु। ७ गते बैठक छ भन्ने कुरा सबैले थाहा पाइसकेका छन्। तर, उहाँहरूले अझै पनि हामीले थाहा पाएनौं भन्न बेर छैन। बैठक हुन्छ।

उहाँहरूलाई के हुन्छ ?
बैठकमा आउनुभएन भने उहाँहरू घर बस्नुहुन्छ। बजार जानुहुन्छ। गुटको मिटिङ गर्नुहुन्छ। अथवा खुमलटार जानुहुन्छ। अथवा निर्वाचन आयोगतिर दर्खास्त लिएर जानुहुन्छ। अथवा सही गराउन हिँड्नुहुन्छ। त्यो त उहाँहरूले जान्ने कुरा हो।

पार्टी विधानअनुसार पनि केही प्रक्रिया होला नि ? कारबाही गर्नुहुन्छ कि ?
मैले अहिलेसम्म कसैलाई कारबाही गरेको छु ? कारबाही गर्नुपरेको छ ? आफैं ठेगान लाग्छ भने बिनासित्तिमा म अगाडि बढेर अबगाल किन बेहोर्छु !

अध्यक्ष भएको नाताले पनि उहाँहरूलाई मिलाएर लैजाने बढी दायित्व तपाईंकै काँधमा होइन र ?
हो नि। त्यही भएर मैले आजै बोलाएर गल्ती महसुस गर्नुस्, पार्टीमा आउनुस्, मिलेर सँगै काम गरौं भनेर निमन्त्रण गरेको हुँ। यो पहल मैले नै गरेको होइन त ?

सभामुखले सरकारविरोधी पार्टीहरूसँग साँठगाँठ गरेर संसद्लाई संविधानको पालना गर्नबाट वञ्चित गराउनुभयो।

तपाईंहरूको गुटको झगडाले कार्यकर्ता निराश हुँदै गएका छन्, तिनको मन कति दुखाउनुहुन्छ ? 
म सम्पूर्ण कार्यकर्तालाई हिजो विभिन्न भ्रममा परेर, अन्योलमा परेर गलत बाटोमा लाग्नुभएको थियो भने पनि अब घर फर्कन आग्रह गर्न चाहन्छु। उहाँहरूलाई देश बनाउने अभियानमा फर्किन आग्रह गर्छु। आफूले बनाएको, आफ्नो पार्टीमा आएर काम गर्नुपर्छ। केही मान्छेले बदमासी गरेका हुन् र कार्यकर्ता त्यही भ्रममा परेका हुन् भन्ने मेरो बुझाइ छ। त्यसैले भ्रममा परेका र बाटो बिराएका सबैलाई भ्रमबाट मुक्त हुन र सही बाटोमा आउन आग्रह गर्न चाहन्छु।

थोरै प्रसंग बदलौं। तपाईं पशुपतिनाथ मन्दिर जानुभयो, पूजा मात्र गर्नुभएन जलहरीका लागि सहयोग गर्नुभयो। त्यसको टीकाटिप्पणी निकै भयो। यस्तो बेलामा कसरी धर्मकर्मको रहर जाग्यो ? 
(सानो हाँसोपछि) मैले लुम्बिनीमा आमूल सुधार गरेको छु। त्यहाँ सभागृह बनाएको छु। ध्यान केन्द्र बनाएको छु। नन्दन वन बनाउने गरी फलफूलका बगैंचा लगाएको छु। यसबाहेक धेरै स्थानमा राम, सीता र लक्ष्मणका सालिक निर्माण गरेको छु। यहीं पनि बुद्धको प्रतिमा स्थापना गरेको छु। को कुन धर्म मान्छ भन्ने बेग्लै कुरा हो। तर, हाम्रो समाजको निकै ठूलो हिस्साले पशुपतिनाथलाई मान्छ। मैले उहाँहरूको भावनाको पनि सम्मान गर्नुपर्छ। कसैकसैले भनेजस्तो पशुपतिको पूजा गरेर राजा वीरेन्द्रको वंशनाश भयो भन्ने मलाई लाग्दैन। पशुपतिको पूजा गरेर कसैको गद्दी गएको पनि होइन र कोही नागार्जुन पुगेको पनि होइन। म जहिले पनि जनताले मन पराउने काम गर्नुपर्छ भन्नेमा विश्वास गर्छु।

विषम परिस्थितिमा यस्तो काम भएकाले बढी टीकाटिप्पणी भएको हो कि ?
म त जहिले पनि विकास गरेको गर्‍यै छु। पशुपतिमा जलहरी पुरोनो भएको देखें। त्यसैले नयाँ हाल्नुपर्छ भन्ने लाग्यो। चाँदीको देखें, सुनको हालिदिएँ।

पूजापाठको कुरालाई फरक तरिकाले व्याख्या गरिएको पो हो कि ?
शिलान्यास गर्नु पनि पूजापाठ होइन र ? यहाँका जनताले पनि मैले पूजापाठ गरेकै देख्न चाहन्छ। पूजापाठ गरेर शिला राख्दा त्यो बलियो हुन्छ भन्ने विश्वास राख्छन् जनता। अनि जनताको विश्वाससँग मैले किन सिंगौरी खेल्नुपर्‍यो ?

यहाँले सीके राउत र विप्लवलाई शान्ति प्रक्रियामा ल्याउनुभयो। ४४ वटा सशस्त्र समूहमध्ये अन्तिममा रहेको गोइत समूहले फेरि डाङडुङ सुरु गर्‍यो। यो कस्तो संकेत हो ?
त्यो कुनै राजनीतिक सशस्त्र समूह होइन। त्यो आपराधिक गिरोह हो। समाजमा चोर, डाँका र अपराधी जहिले पनि रहन्छन्। गोइत समूह भनेको कुनै राजनीतिक पार्टी होइन। त्यसको कुनै राजनीतिक माग पनि छैन। त्यो समूहले पैसा असुल गर्ने मात्र हो। त्यो भनेको डकैतीको नयाँ रूप हो।

विप्लव समूहको राजनीतिक गतिविधि अब कसरी अगाडि बढ्ला ?
मेरो विचारमा उहाँहरू पार नलाग्ने बाटोमा हुनुहुन्थ्यो। अब भने उहाँहरू पार लाग्ने बाटोमा आउनुभएको छ। शान्तिपूर्ण बाटोमा आएर उहाँहरूले आफ्नो पार्टीका विचार र धारणा अगाडि बढाउनुहुन्छ। उहाँ भनेको विगतको प्रचण्डसँगैको लडाकु पनि हो। अहिलेको स्थितिमा हिजोका लडाकु अलपत्र अवस्थामा छन्। उनीहरू बेवास्ताको सिकार बनेका छन्। अपहेलित र तिरस्कृत पनि बनेका छन्। अलपत्र अवस्थामा रहेका विगतका लडाकुलाई मैलेभन्दा पनि विप्लवले राम्ररी चिन्नुभएको छ।
त्यसैले उनीहरूलाई समेटेर मूलधारको शान्तिपूर्ण राजनीतिमा समाहित गराउने र सामाजिक काममा सक्रिय गराउने भूमिका पनि विप्लवले निर्वाह गर्न सक्नुहुन्छ। यसतर्फ ध्यान केन्द्रित गर्नुभयो भने उहाँ सफलतापूर्वक अगाडि बढ्न सक्नुहुन्छ।

शान्ति प्रक्रिया अझै टुंगिएको छैन। सत्य निरुपण र बेपत्ता छानबिन आयोगहरूले अझै कामै गरिरहेका छन्। द्वन्द्व व्यवस्थापन कहिले टुंगिन्छ ? 
यसमा प्रचण्डजीको बहुतै असहयोग छ। उहाँले लामो समय आयोग खाली राखेर अप्ठ्यारो पार्नुभयो। त्यसपछि पनि उहाँले आफ्ना मान्छेलाई कुरा मिलाउनेभन्दा बिगार्नेतर्फ बढी क्रियाशील गराउनुभयो। त्यसैले अहिलेसम्म पनि यो काम खासै अगाडि बढेको छैन। मेरो विचारमा यस्ता कुरालाई लामो समय जीवित राखिरहँदा कुनै समय त्यसले नकारात्मक रूप लिन सक्छ। त्यो कुरा उहाँले बुझ्नुपर्ने हुन्छ। म भने यथाशीघ्र यो समस्याको समाधान हुनुपर्छ भनेर लागिरहेको छु।

त्यो बेलाका हत्या, हिंसा र बेपत्ता पारिएका थुप्रै घटना छन्। त्यो विशुद्ध राजनीतिक विषय मात्र हो कि आपराधिक पनि हो ?
यसमा दुइटै कुरा छन्। त्यसैले त हामीले मानवताविरोधी जघन्य अपराधजस्ता कुरामा क्षमा हुन सक्दैन, त्यस्तो जघन्य अपराधमा दोषीले दण्ड र पीडितले न्याय पाउनुपर्छ भनेका छौं। विशुद्ध राजनीतिक संघर्ष मात्र हुन्थ्यो र मानवताविरोधी जघन्य अपराध हुँदैनथ्यो भने त्यो अर्को विषय हो। हरेक युद्धका आफ्ना नियम र सीमा हुन्छन्, त्यसलाई ध्यानमा राख्न आवश्यक छ।

अलपत्र अवस्थामा रहेका विगतका लडाकुलाई मैलेभन्दा विप्लवले राम्ररी चिन्नुभएको छ,उनीहरूलाई शान्तिपूर्ण राजनीतिमा समाहित गराउन सके उहाँ सफल हुनुहुन्छ।

अब चलिरहेको सत्ता खेलतिरै फर्कौं। देशको राजनीति फेरि अल्पमत÷बहुमततिर गएकै हो त ?
हो। देशको राजनीति फेरि फोहोरी खेलतिर गएकै हो। म त अझै चुप लागेर हेरेर बस्ने हो। आफ्नो काम खुरुखुरु गर्ने हो।

तर, तपाईंले झन् खेलमा सामेल हुनैपर्ला नि ?
होइन, केही फरक पर्दैन। म त हेरेर बस्ने हो। उनीहरूले जेजे गर्छन्, गरून्। बहुमत पुर्‍याएछन् भने म प्रतिपक्षमा बस्न खुसी नै हुनेछु। मैले अब डेढ वर्ष जनताका बीचमा राम्ररी संगठन गर्न पाएँ, राजनीति लान पाएँ, आफूले गरेका काम बुझाउन पाएँ, सशक्त रूपमा पार्टी निर्माण गर्न पाएँ भने त्यसको प्रतिफल निकै ठूलो हुनेछ। म अहिल्यै त्यसको परिणाम नबताऊँहोला। अहिल्यै परिणाम बताएर अरूलाई तर्साउनु राम्रो होइन। त्यसैले म प्रतिपक्षमा बस्न खुसी नै हुन्छु। बरु नयाँ समीकरण भयो भने उहाँहरूलाई अप्ठ्यारो पर्छ। सरकार बनाउनमै उहाँहरू अल्झिनुपर्छ। सरकारमा जान मेरो मान्छे र तेरो मान्छेमै उहाँहरूको समय बित्छ। राम्रो मन्त्रालय र नराम्रो मन्त्रालयमै उहाँहरूको समय सकिन्छ। सरकार गठनपछि पनि उहाँहरूले गर्ने भनेको त मैले अगाडि बढाएका कामलाई नै पूर्णता दिने हो। मलाई त जताबाट पनि फाइदै छ।

तीन दल मिलेर जसरी पनि नयाँ समीकरण बनाई तपाईंलाई ढाल्ने र नयाँ सरकार बनाउने गृहकार्य भइरहेको देखिन्छ। यसलाई कसरी लिनुभएको छ ?
त्यो गृहकार्य अब अझै एक वर्षजति चल्छ होला।

शेरबहादुर देउवालाई पार्टीले नै अग्रसर गराइसक्यो नि ? 
उहाँले एउटा खुट्टा उचाल्नुभएको छ, अर्को खुट्टा उचाल्न बाँकी छ।

अर्को खुट्टाचाहिँ कहिले उचाल्नु होला ?
(लामो हाँसोपछि) त्यो अब अझै एकडेढ वर्षपछि मात्र थाहा हुन्छ।

कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेको गर्व गर्नलायक काम के गरें भन्ने लाग्छ ? त्यस्तो केही गर्नुभयो ? 
(हाँस्दै) पहिले तपाईं नै १०/२० वटा भन्नुस् त, त्यसपछि म थप्छु। थानकोट—नौबिसे सुरुङबाट सुरु गरौं है त। सुनकोशी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, पुनर्निर्माणका काममा सात लाख घर हस्तान्तरण भइसक्यो। देशभर फुसको छाना भएको घरलाई टिनको छानाले विस्थापित गरिसकियो। जनता आवास कार्यक्रम र पूर्व–पश्चिम रेलको काम प्रारम्भ भइसक्यो। रेल किनेर जनकपुरमा राखिएको छ। मेलम्चीको पानी सुन्दरीजल खसालिसकियो। देशभर एकसाथ ३०९ वटा अस्पताल भवनको शिलान्यास भएको छ। म आफैंले एकै दिन ३१ वटा सडक र पुलहरूको शिलान्यास र उद्घाटन गरेको छु। भत्काएर छाडेको सिक्टा सिँचाइ चलाइएको छ। बबई—भेरी डाइभर्सनको काम धमाधम हुँदैछ। पहिले वर्षमा ६ किलोमिटर बाटो बन्थ्यो; अहिले दिनमै १० किलोमिटर बाटो बन्छ। हिजो मात्र २१० वटा बाटोको शुभारम्भ गरिएको छ। विश्वका कतिपय देशमा कोभिड— १९ को भ्याक्सिन पुगेकै छैन। हाम्रो देशमा लाखौं नागरिकले भ्याक्सिन लगाइसक्नुभएको छ।

देशभरका विमानस्थल सुधारको काम भएको छ। ढल्केबर र पर्वतमा ट्रान्समिसन लाइनको काम देख्नुभएकै होला। डिजिटल नेपाल र नागरिक एप्सको चर्चा सुन्नुभएकै होला। अप्टिकल फाइबर र फोरजी सर्भिसको काम पनि भइरहेकै छ। सगरमाथाको उचाइ नाप्नेदेखि लिएर आफ्नो देशको भूभाग समेटेर नक्सा छाप्ने काम भएको सबैलाई अवगतै छ। सर्वसम्मतिले संविधान संशोधन गरेको पनि थाहै होला। यस्ता हजारौं काम भएका छन्। मैले भन्नै पर्दैन। सारा जनताले आफ्नै आँखाले देखेका छन् र विकासको आयामलाई मनैदेखि अनुभव पनि गरेका छन्।

यति हुँदाहुँदै गर्न सकिनँ भन्ने लागेको केही छ ?
कसैले पनि एकैचोटि सबै काम गर्न सक्दैन। देश विकासको मार्गमा अझै थुप्रै काम गर्न बाँकी छ। रावणले ‘स्वर्ग जाने सिँढी बनाउन लागेको थिएँ तर, बनाउन सकिनँ’ भनेको जस्तो कुरा गर्नु हुँदैन। मेरो उद्देश्य यो देशलाई स्वर्ग बनाउने हो, स्वर्ग जाने सिँढी बनाउने होइन।

थोरै प्रसंग बदलौं, अब एमसीसीको विषय कसरी अगाडि बढ्ला ?
एमसीसी एउटा ठगी खाने भाँडो हो। त्यो गर्ने मान्छेहरूले नै एउटा मौकामा त्यो  गर्नु हुँदैन भनेर उधुम मच्चाएका थिए। कार्यदल बनाए। एमसीसी राष्ट्रघात हो पनि भने। तर, अब सरकारमा जाने चलखेल सुरु हुँदैछ। त्यसैले धेरैको बोली पनि फेरिँदै छ। सबैभन्दा बढी एमसीसीको विरोधमा नारा लगाउने झलनाथ खनालजीले अहिले अब तुरुन्तै एमसीसी पास हुन्छ भनेर भाषण गरिसक्नुभयो। यो सबै स्वार्थको खेल हो।

संसद् बैठकको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश अहिले अड्काइराखिएको अवस्था छ, अब के हुन्छ ?
संविधान कार्यान्वयन गर्न नै सभामुखले दिनुभएन। उहाँले सरकारविरोधी पार्टीहरूसँग साँठगाँठ गरेर संसद्लाई संविधानको पालना गर्नबाट वञ्चित गराउनुभयो। उहाँले त्यस्तो गर्नु हुँदैनथ्यो। त्यो संवैधानिक प्रश्न भएकाले सभामुखले त्यस्तो ‘सेटिङ’ मा जानु हुँदैनथ्यो।

अन्त्यमा, कोभिड खोप सबै नागरिकले सित्तैमा पाउन सक्छन् कि सक्दैनन् ?
सक्छन्। त्यसका लागि आवश्यक बजेटको बन्दोबस्त हामीले गरिसकेका छौं। खोप लगाउने ठाउँको बन्दोबस्त पनि भइसकेको छ। अहिले पनि हामीले व्यापक रूपमा खोप ल्याइरहेका छौं र लगाइ पनि रहेका छौं।

कहिलेसम्म सबै नागरिकले लगाइसक्लान् त ?
त्यसका लागि केही समय भने लाग्ने देखिन्छ। हामीले सकेसम्म छिटो लगाउने तयारी गरेका थियौं। तर, प्राविधिक कारणले केही समय लाग्ने देखियो। जे होस्, जतिसक्दो चाँडो प्रत्येक नागरिकलाई निःशुल्क खोप लगाउन सरकार प्रतिबद्ध छ। मेरो विचारमा वर्षभरिमा त्यो काम पूरा हुनेछ।

पछिल्लो समय भेटघाट र पार्टीका कार्यक्रममा निकै सक्रिय हुनुभएको छ। तपाईसँग कोरोना डराएर भागेकै हो त ?
(हाँस्दै) तपाईंलाई एउटा कुरा बताउन चाहन्छु, मलाई कोरोना लाग्दैन। किनभने, मैले कोरोना र नेपाली समाजको विशेषता राम्ररी बुझेको छु। परम्परागत नेपाली भान्छाको चरित्र मलाई राम्ररी थाहा छ। त्यसैले मलाई कोरोना लाग्दैन र लागिहाले पनि आफैं भाग्छ। पहिले कोरोना भाइरस नाकमा बस्ने भएकाले म कतै गएर आउनासाथ तातोपानीको नस लिँदै सफा गर्छु। हरेक बेलुका अम्बाका दुइटा पात पकाएर कुल्ला गर्छु। यसो गर्दा भाइरस घाँटीसम्म पुगेको छ भने पनि आफैं चट हुन्छ। त्यसपछि प्रत्येक दुईतीन दिनमा बाफ लिन्छु। भाइरस फोक्सोमा पुगेको रहेछ भने पनि तातो बाफले फाइदा गर्छ। बेलुका सुत्ने बेलामा मनतातो दूध र बेसार खान्छु। बिहान उठेर घरेलु मसला मिसाएको तातोपानी पिउँछु।

तपाईं आफ्नो जुँगा कालो हुन थाले भन्नुभएको थियो नि, आज त अझ बढी कालो भएजस्तो देखिएको छ। बीचबीचमा मेहन्दी लगाउनुहुन्छ कि के हो ?
बीचबीचमा मेहन्दी लगाएर हुन्छ र ? मेहन्दी लगाउँदा त सबैतिर लगाउनुपर्छ। मलाई त प्रकृत्तिले नै मेहन्दी लगाउँदै तगडा बनाउँदै लगेको हो।

भिड्नुपर्छ भनेर तगडा बनाएको त होइन नि ?
भिड्नुपर्छ भनेर होइन, देश बनाउनुपर्छ भनेर प्रकृतिले तगडा बनाएको हो। मलाई भिड्ने विषयमा कुनै रुचि नै छैन। देश बनाउने विषयमा रुचि छ। कसैले रोक्न खोजे पनि देश त बनाएरै छाडिन्छ।

(अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारीले प्रधानमन्त्री ओलीसँग गरेको विशेष कुराकानी)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist