बेईजिङ । चीनले त्यहाँ काम गर्ने अन्तिम भारतीय पत्रकारको भिसा अवधि नबढाइने जनाएको छ । चिनियाँ प्रशासनको निर्णयपछि अब कुनै पनि भारतीय पत्रकार चीनमा रहने छैनन् ।
सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार पत्रकार सम्मेलनमा भारतमा चिनियाँ पत्रकारहरूलाई अन्यायपूर्ण र भेदभावपूर्ण व्यवहार गरिएको बताएका थिए ।
चीनले त्यहाँका भारतीय पत्रकारको भिसा नवीकरण नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का एक मात्र भारतीय पत्रकार हाल चीनमा छन् । उनको भिसा जूनमा सकिँदैछ ।
चीनले पहिले नै उनको भिसा अवधि नबढाउने संकेत गरेको छ । यो महिनाको अन्त्यमा उनी भारत फर्किएपछि चीनमा भारतीय पत्रकार रहने छैनन् ।
हिन्दुस्तान टाइम्सका एक पत्रकार जुन ११ मा भिसाको म्याद सकिएपछि भारत फर्किएका छन् । त्यसअघि अप्रिलमा बिदामा भारत आएका दुई पत्रकार चीन फर्कन सकेनन् । उनीहरुको भिसा रोकिएको जानकारी दिइएको छ । चीनमा चारजना भारतीय पत्रकार थिए ।
जुन १५, २०२० मा, पूर्वी लद्दाखको गलवान घाटी सीमामा दुई देशहरू बीच भएको तनावमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीच बारम्बार वार्ता भए पनि स्थिति सामान्य हुन सकेको छैन ।