इलाम । अबिरल वर्षाका कारण छताप्लेजुङको सिदिङवा–६ स्थित मेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी घाइते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि विराटनगर लगिएको छ ।
सोही पहिरोमा परी एकैघरका ६७ वर्षीय केशरकुमार राई र ३६ वर्षीय सुरेश राईको भने मृत्यु भएको छ ।पहिरोमा परि उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए । मृतक केशर र सुरेश बाबुछोरा हुन् । मृतक बाबु छोराको शवलाई पनि दाहसंस्कारका लागि हेलिकप्टरमार्फत झापा ल्याउने तयारी भइरहेको बताइएको छ ।
त्यसैगरी सोही पालिकाको वडा नं ६ स्थित गौरीगाउँमा १२ जना महिला, बालबालिका र वृद्धवृद्धा व्यक्तिहरू पहिरोको जोखिममा परेको र उनीहरूको उद्धारका लागि संयुक्त सुरक्षा टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।







