काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि सुदूरपश्चिम प्रदेशमा समेत वर्षा हुनेछ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षा भइरहेको छ । आंशिकदेखि सामान्य बदली भई आज दिउँसो कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशको बाँकी भू भागका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू भागको थोरै स्थान तथा बाँकी भू भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । कोशी प्रदेशको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
भोलि मंगलबार कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र देशको बाँकी भू भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
बुधबार देशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राती कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने भएकाले सबैलाई सतर्क रहन महाशाखाले जानकारी गराएको छ ।