काठमाडौं । एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ ।
मंगलबार हरारेमा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीनको सम्भावना कायम राख्न सफल भएको हो ।
समूह ‘ए’अन्तर्गत आफ्नो दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालसमक्ष अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ४२ बल बाँकी छँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्कीले ११४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७७ रन बनाउँदा कुशल भुर्तेलले ३९ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी ३२ बलमा ३९ रनमा नटआउट रहे ।
त्यस्तै, कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा आसिफ शेखले १२ रन बनाएका थिए। त्यस्तै, कुशल मल्लले १३ रन बनाउन सफल भए ।
अमेरिकाका लागि शौरव नेत्राभल्कर, नोस्थुस केन्जीङ्गे, निसार्ग पटेल र स्टेभन टेलरले समान १–१ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपालले राम्रो सुरुवात गरेको थियो। पछिल्ला ओभरमा महँगो सावित हुँदा अमेरिकाले २०० रन पूरा गर्यो । नेपालका लागि आशा गरिएका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय करिअरमा पहिलो पटक अमेरिकासँग विकेटविहीन बने ।
उनले १० ओभर बलिङ गर्दा ५८ रन खर्चिएका थिए । यसअघि सन्दीप जिम्बाब्वेविरुद्ध पनि विकेटविहीन बनेका थिए। उनी लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटविहीन बनेका हुन् ।
६५ रनमा ५ विकेट गुमाएको अमेरिकाका लागि पछिल्लोक्रमले उत्कृष्ट प्रदर्शन गरेको थियो । सातौं नम्बरमा ब्याटिङका लागि आएका शायन जहाँगिरले १०० रनको नटआउट शतकीय इनिङ खेले ।
त्यस्तै, ओपनर सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रन बनाए । त्यस्तै, जेसी सिंहले १२ रन बनाएका थिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिँदा गुल्सन झाले ३ विकेट लिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीको नाममा २ विकेट रह्यो। ललित नारायण राजवंशीले १ विकेट लिएका थिए ।