काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् ।
बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।
उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ । यो देश योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ । योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नेकुरा गरिएको छ। मलाई विश्वास छ, नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्नेछ ।’
उनले योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने पनि बताए ।