इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।
प्रशिक्षणको सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गरेका थिए ।
हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो ।
पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गरेका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गरे ।
कार्यक्रममा युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताए ।
युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिइन् ।
सो अवसरमा सुनसरीका पूर्वअध्यक्ष गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएको अध्यक्ष धु्रव ढकालले जानकारी दिए । तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता थियो ।