इलाम : जिल्ला हुलाक कार्यालय इलाममा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । सेवाबाट हटाउन लागेको भन्दै अतिरिक्त हुलाकका कर्मचारीहरुले आज तालाबन्दी गरेका हुन् । सरकारले आगामी साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै इलाममा हुलाक कर्मचारीहरुले आन्दोलन थालेका थिए । सरकारको निणर्यले लामो समयसम्म गरेको सेवाको मूल्यांकन विना काम छाड्नु परेको भन्दै कर्मचारीद्धारा चरणवद्ध आन्दोलनका कार्यक्रम सुरु भएको छ । काम नै छोडेर कर्मचारीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन । इलाममा ४० अतिरिक्त हुलाक कार्यालय रहेकामा तिनमा १ सय ५७ कर्मचारी कार्यरत रहेको बताइएको छ ।
सरकारी निणर्यको मारमा परेको भन्दै कर्मचारीहरु संगठित भएर आन्दोलनमा होमिएका छन ।नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको अगुवाईमा सदरमुकाममा रहेको जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन थालिएको छ ।
विना विकल्प कर्मचारीलाई सेवामूक्त गर्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रनु परेको कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष लिलानाथ लम्सालले वताए । उनले सुरु चरणदेखी नै शान्तिपुर्ण आन्दोलन गर्दै आएको बताए । सरकारले सो निर्णय कार्यान्वयन गरे आफुहरुले ससक्त आन्दोलनका अझै कार्यक्रम सार्वजनिक गर्ने समेत बताए ।
नेपाल सरकारले बजेट वक्तव्यमा साउन १ गतेदेखि लागूू हुुने गरि देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको हो । अतिरिक्त हुुलाक खारेजी हँदा देशभरमा ११ हजार कर्मचारी रित्तो हात घर फर्कनु पर्ने छ ।सरकारको यो निर्णय सच्याइनु पर्ने उनीहरुको माग छ । नसच्याइए चरणवद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी दिएका छन । जिल्ला हुलाकबाट समेत नविकरणका लागि आफ्नो नाम केन्द्रमा नपठाइएकाले आफुहरुले जिल्ला हुलाकमा नै तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ । कार्यालयमा तालाबन्दी गरिए पछि सेवा प्रभावित भएको छ । कर्मचारीह कार्यालय बाहिर नै बसिरहेका छन् ।