इलाम : इलाम नगरपालिकाको सहयोगमा इलाम क्याम्पसमा खुल्ला व्यायामशाला स्थापना भएको छ । इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खुल्ला ब्यायमशाला स्थापना भएको हो । व्यायामशालाको नगर प्रमुख केदार थापा, उप–प्रमुख बिष्णु दाहाल र प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर खड्का सहितको उपस्थितिमा उद्घाटन गरिएको छ ।
इलाम नगरपालिकाले आफ्नै लगानीमा खुल्ला व्यायामशाला निर्माण गरेको हो । ‘स्वस्थ जीवन बाचौ’ अभियान लिएर नगरले वडा नं ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पस परिसरमा सो व्यायामशाला निर्माण गरेको हो । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासी साथै क्याम्पस पढ्न आउने बिद्यार्थीको स्वास्थ्यको लागि खुला व्यायामशालाले मद्धत पुगेको छ।
व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । सदरमुकाममा रहेको महेन्द्र रत्न बहुमुखी क्यामपसको जग्गामा निमार्ण गरिएको खुला व्यायामशाला मंगलबार बाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । उक्त निर्माणमा नगरपालिकाले ८ लाख रूपैयाँ खर्च गरेको छ भने व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ ।
रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा व्यायामशाला बनाएको नगरपालिका प्रमुख केदार थापाले बताए । नगरप्रमुख थापाले भने, ’बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर साथै क्यामपसलाई समेत मद्धत पुग्ने यहाँं पढ्न आउने बिद्यार्थीलाई समेत टेवा पुग्ने हिसाबमा खुल्ला व्यायामशाला निर्माण गरेको बताए ।’
व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । मानिसको खानपान र जीवनशैलीमा आएको परिवर्तनले विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले ठुलो टेवा पुग्ने नगरप्रमुख थापाले बताए ।