विराटनगर । मोरङको बेलबारीमा निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर आइतबार एकजना मजदुरको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका २ लालभित्तीका माधव ओझाको घर निर्माणमा खटिएका भोजपुर छिनामखुका ३५ वर्षीय ज्ञानेन्द्र बस्नेतको मृत्यु भएको हो ।
आज दिउँसो ४ः३० बजेतिर सेटिङको काम गर्दै गरेको अवस्थामा दोस्रो तलाबाट खसेर बस्नेत घाइते भएका थिए । प्रहरीकाअनुसार उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।