काकड़भिट्टा । कोशी प्रदेशमा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको क्षेत्रलाई लागूऔषध मुक्त बनाउन सक्रियता बढाएको छ । लागूऔषध सेवन गरेर चालकले सवारीसाधन चलाउने गरेको पाइन थालेपछि उक्त गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाइएको हो ।
विभिन्न स्थानमा परीक्षण गर्दा चालकले लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको थियो । चालक, सहचालक तथा परिचालकलाई लक्षित गरेर आइतबारदेखि ट्राफिक प्रहरीले जाँच सुरु गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले झापाको काँकडभिट्टामा अभियानको उद्घाटन गरे । उनले सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरिएको बताए ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोका अनुसार प्रदेशका १४ वटै जिल्लामा अभियान एकसाथ सुरु गरिएको हो । १४ वटा जिल्लाका विभिन्न २० स्थानमा अभियानको सुरु गरिएको उनले बताए ।