काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।
“मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उनले भने ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी गर्न प्रहरी परिचालन गरिएको छ।
लिखुपिके गाउँपालिकामा पर्ने लामजुराडाँडा भन्ने स्थानमा हेलिकप्टर खोजीका लागि प्रहरीहरू परिचालन गरिएको हो।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए।
‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। कुहिरो लागेकोले हेलिकप्टरबाट खोजी गर्न अहिले असम्भव भयो, प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।