इलाम : सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सवार रहेका सबै ६ जनाको मृत्यु भएको छ।दुर्घटनामा पाइलट सिबि गुरुङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जनाएको छ । प्राधिकरणका अनुसार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन एएमभी हेलिकप्टर विहान १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो।
हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरा नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको खबर आएलगत्तै काठमाडौंबाट उद्धारका लागि गएको हाइ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टर मौसममा आएको खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको प्राधिकरणले जनाएको छ।
हेलिकप्टर अवतरण गर्न नसक्दा मृतकहरूको शव काठमाडौं ल्याउन समस्या भएको प्राधिकरणका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीले बताएका छन।अहिले हेलिकप्टर सोलुखुम्बुकै भाकान्जेमा अवतरण गरेको र घटनास्थलबाट हेलिकप्टर अवतरण गरेको ठाउँसम्म गाडीमा शव ल्याउने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए। उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ।