विराटनगर । नहरले बगाएर मोरङमा बुधबार साँझ एकजना बेपत्ता भएका छन् । जहदा गाउँपालिका–३ मा पौडी खेल्ने क्रममा बगेका अर्का एकजनाको जीवितै उद्धार गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार नहरले बगाएर भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन् ।
उनी जहदा–३ स्थित मामा घरमा बस्दै आएका थिए । स्थानीय १८ वर्षीय दिपेश राजवंशीसँग उनी पौडी खेल्न गएका थिए । दुवै जनालाई नहरले बगाएको थियो । प्रहरी चौकी मझारेबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दिपेशलाई सकुशल उद्धार गरेको हो ।
बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।