धरान । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई निजी जग्गामा वृक्षारोपण नगर्न/नगराउन आदेश दिएको छ ।
धरान वडा नं. १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै उच्च अदालतका न्यायधिस मिलन कुमार राईले अनधिकृत प्रवेश गर्ने र वृक्षारोपण गर्ने कामलाई रोक्न आदेश दिएका हुन् ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतरुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेको हो ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सीताराम कोइराला र अधिवक्ता सविता देवकोटाको बहसपछि न्यायधिश राईले अन्तरिम आदेश दिएका हुन् ।
निवेदनको माग बमोजिम आदेश हुनु नपर्ने आधार, कारण र प्रमाण सहित विपक्षी धरान उपमहानगरपालिका लाई बाटोको म्याद सहित पन्ध्र दिन भित्र अदालतमा हाजिर हुन आदेशमा भनिएको छ ।
मेयर साम्पाङले गत शनिबार सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षारोपण गरेका थिए । सोही क्रममा अधिकारीकी श्रीमतीको नाममा भएको जग्गामा पनि वृक्षारोपण गर्दा विवाद भएको थियो ।