काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको सबै विभागका प्रमुख र सदस्यहरुलाई सूचना प्रविधि तालिम दिने भएको छ।
विभागको मंगलबार विभाग प्रमुख मिन विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभागका प्रमुख एवं सदस्यहरु बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगी कार्यक्रम गर्ने र त्यसका लागि मिति, समय र स्थान प्रचार विभाग प्रमुखले तोक्ने निर्णय भएको विभाग सदस्य पवन अधिकारीले जानकारी दिएका हुन्।
उनका अनुसार पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय भएको छ। विभाग सदस्य अधिकारीले भने, ‘लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय भएको छ।’
यसैगरी नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गरिएको छ। विभागले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णय पनि गरेको छ।