इलाम। कोशी नदीमा हामफालेर बेपत्ता भएको आशंका गरिएका झापा दमकका चिकित्सक प्रज्ज्वल कोइरालाको शव भेटिएको छ ।कोइराला हराएको १० दिनपछि बराहक्षेत्र २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको प्रहरी जनाएको छ । माछा मार्ने मान्छेले शव देखेर प्रहरीलाइ खबर गरेका थिए ।प्रहरी गएर शव हेर्दा डा। कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आएको सुरक्षा बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।
माछा मार्ने मानिसले कोइरालाको शव भदौ १९ गते अपरान्ह साढे ४ बजेतिर देखेका थिए । विपद व्यवस्थापन टोलीले साँझ ६ बजे शव ल्याएर धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाएको छ ।डा। कोइराला भदौ १० गते आइतबार बेलुकाको ड्युटी सकेर हिँडेका थिए । बेपत्ता भएको भोलिपल्ट उनी चढ्ने कार चतराको पुलपारि बिहान फेला परेको थियो ।कार राखेको क्षेत्रमा उनी चतराको पुलमा यताउता गरेको र खोलामा टहलाएको सिसीटिभी क्यामेराको फुटेजमा देखिन्छ । गाडी र पुलमा मोबाइल र जुत्ता छाडेर उनी बेपत्ता भएका थिए ।
प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उनको प्रेमी भनिएकी एक युवतीसँग कुराकानी भएको देखिन्छ । ती युवतीसँग बयान लिँदा दुईजनाबीच प्रेम भएको समेत पाइएको छ । दमकको एक फार्मेसीमा काम गर्ने ती युवती डा। कोइराला बेपत्ताको खबर सुनेपछि बेहोश भएको खबर बाहिरिएको थियो ।मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ वर्षीय काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ वर्ष काम गरेका थिए । घटनाक्रम र प्रहरी बयानअनुसार कोइरालाले कोशीमा हामफालेर आत्महत्या गरेको अनुमान गरिएको थियो ।