काडमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
तर चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । यता सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निगमसँग रुष्ट बनेका थिए । लगत्तै उनले मन्त्रिपरिषद्को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।
यसअघि पेट्रोल १८३ र डिजेलको १७३ रुपैयाँ प्रतिलिटर थियो । मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य पनि १ हजार ८९५ रुपैयाँ नै कायम भएको छ ।