जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ७० जना बहाना बढीको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार रुकुममा मात्र कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने जरकोटमा ३७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा भेरी नगरपालिकामा ३० जना , नलगाड नगरपालिकामा ६ जना र छेडागाड नगरपालिकामा १ जना गरि ३७ जना काे मृत्यु भएको हाे ।
भूकम्पमा परी ४७ जना घाइते भएका हुन् । भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जाजरकोट जिल्ला अस्पताल खलंगामा उपचार भैईरहेकाे छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै
भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९ र १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू सक्रिय भएका छन् ।
सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको स्थिति रहेको बताईएको छ । केही सडकहरू बन्द भएका छन् ।
सल्लाहकार आचार्यले भने, ’’खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि सम्माननीय प्रधानमन्त्रीज्यू सहितको स्वास्थ्यकर्मीको टिम अहिले स्थलगत जाँदैछ। बिहानैदेखि घाईतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुनेछन्।’’