इलाम। इलामको सन्दकपुर गाउँपालिका–१ माइपोखरीमा आयोजना हुने त्रिधार्मिक महाउत्सवको तयारीमा तिव्रता दिइएको छ । आयोजनाको मिति नजिकिएसंगै आयोजकले तयारीलाई द्रुत रुपमा अघि बढाएको हो ।विश्वशान्तिको कामनासहित माइपोखरीमा आगामी १ देखि ८ मंसिरसम्म सनातन हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाउत्सव आयोजना हुँदैछ । आयोजनाको महायज्ञस्थल निर्माणको कार्य धमाधम भइरहेको छ ।
रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्त्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महायज्ञमा बौद्धगुरु र किराँत धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायत गर्ने जनाइएको छ ।माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको आयोजकले बताएका छन ।