चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिंगे गैंडा मारेपछि नेपाली कांग्रेस, चितवनको ध्यानाकर्षण भएको छ ।
पार्टीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुईवटा पोथी गैंडा मारिएको घटनाले नेपाली कांग्रेस चितवनलाई गम्भीर बनाएको जनाएको हो ।
जिल्ला सभापति राजेश्वर खनालद्वारा प्रकाशित विज्ञप्तिमा गैंडा तस्करले दुई दशकभन्दा बढी पुरानो विधिको प्रयोग गरी दसैं तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शंकास्पद घटनाको रूपमा रहेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘योजनाबद्ध रूपबाट गल, गैची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैंडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ ।’
दुर्लभ एक सिंगे गैंडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा जनाइएको छ ।
सशस्त्र द्वन्द्वकालमा भएका गैंडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’