तान्जानिया । उत्तरी तान्जानियामा यस साताको अन्त्यमा भारी वर्षापछि आएको बाढीबाट मृत्यु हुनेको संख्या ६८ पुगेको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री कासिम मजलिवाले सोमबार टेलिभिजनमा प्रशारण गरेको टिप्पणीमा घाइतेको संख्या ११६ जना रहेको बताए । पहिरोले आफूले भ्रमण गरेको एउटा गाउँको आधा भाग ध्वस्त भएको पनि उनले बताएका छन् ।
‘हामी यहाँ हाम्रा साथीहरूको शवको अगाडि छौं । हामीले ६३ प्रियजनहरू गुमाएका छौं । हामीले गुमाएका कुल साथीहरूमध्ये २३ जना पुरुष र ४० जना महिला छन्,” उनले उत्तरी तान्जानियाको हानाङ जिल्लामा मृत्यु भएकाहरूको शवलाई बिदाइ गर्ने कार्यक्रममा भने ।
यसअघि सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता जुहुरा युनुसले बाढीले कम्तीमा १,१५० घरधुरी र ५,६०० मानिस प्रभावित भएको र ७५० हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको बताए।उत्तरी मन्यारा क्षेत्रका आयुक्त क्वीन सेन्डिगाले मृत्यु हुनेको संख्या अहिलेसम्म ६८ पुगेको एएफपी समाचार संस्थाले जनाएको छ ।