झापा, मंसिर २० । नेपालमा दर्ताको हुने आशयका साथ टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो । “सामाजिक सञ्जाल नियमन निर्देशिका आउनु राम्रो पक्ष हो भनेर टिकटकले प्रशंसा गर्दै ईमेल पठाएको छ,” सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भन्नुभयो, “ईमेलमा दर्ताको सम्बन्धमा दुईरतीन ओटा बुँदामा प्रश्न उठाएको छ ।”उहाँले अगाडि भन्नुभयो, “ईमेल हेर्दा उहाँहरूको आशय नेपालमा दर्ता हुने चाहेको भन्ने देखिन्छ ।”
अहिले टिकटकमाथि प्रतिबन्धको विषय अदालतमा विचाराधीन रहेकाले सरकारले जवाफ नफर्काउने सुवेदीले सुनाउनु भयो । अन्य प्लेटफर्मलाई सूचीकरण गर्नेबारे छलफल गर्ने भए पनि अदालतबाट टिकटकका सन्दर्भमा अन्तिम निर्णय नआएसम्म सो प्लेटफर्मसँग आधिकारिक कुरा नहुने उहाँले बताउनु भयो । २७ कात्तिकमा सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ ओटा रिट दर्ता भएका छन् ।ती रिटउपर मंगलबार पूर्ण सुनुवाइको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।







