इलाम । नेपाल निर्माण व्यवसायी संघ इलामले १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेको छ । संघले दिवसको अवसरमा शुक्रबार इलाम नगरपालिका ५ बरबोटे स्थित अमर मावि बौद्धिक अपाङ्गता श्रोत कक्षाका बालबालिकाका लागि न्यानो कपडा बितरण गरेको छ । जाडोमा लगाउने एक÷एकथान ट्रयाक सुट बितरण गरेको हो । श्रोत कक्षामा २३ जना बालबालिका रहेका छन् । करिब ३७ हजार मूल्य बराबरको न्यानो कपडा संघका पदाधिकारीले बिद्यालय ब्यबस्थापन समिति गोविन्द पौडेल, श्रोत कक्षाका शिक्षक दिनमणि भटटराईलाई हस्तान्तरण गरेको संघका कोषाध्यक्ष सन्तोष भक्तराजले जानकारी दिनुभयो ।
हरेक वर्ष मंसिर २२ गतेका दिन निर्माण दिवस मनाउने गरिन्छ । हरेक वर्ष आजकै दिन निर्माण दिवस मनाउने क्रममा संघले अशक्त, असहाय बिरामीलाई सहयोग गर्नुका साथै अन्य बिभिन्न कार्यक्रम मनाउने गरेको संघका अध्यक्ष सन्तोष कटुवालले बताउनुभयो । न्यानो कपडा हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष निरोज राउत, सहसचिब दिनेश खड्का, जिल्ला सदस्य सूर्यमान तामाङ, संघका केन्द्रिय प्रतिनिधि मनोज बुढाथोकी, संघका कोशि प्रदेश सदस्य चन्द्र पाठक सहित निर्माण ब्यबसायीहरु सुरज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा निर्माण ब्यबसायीले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखेका थिए । निर्माण ब्यबसायी संघ इलाममा करिब पाँचसयवटा निर्माण म्पनि दर्ता रहेको छ । तर तीनसयको हाराहारीमा मात्र निर्माण कम्पनि सक्रिय रहेको संघले जनाएको छ । सक्रिय रुपमा सोही कार्यक्रमको अवसर पारेर निर्माण ब्यबसायी एवं संघका केन्द्रिय प्रतिनिधि मनोज बुढाथोकीले बौद्धिक अपाङ्गता श्रोत कक्षाका लागि २० हजार मूल्य बराबरको चामल सहित खाद्यय सामाग्रि समेत उपलब्ध गराउनु भएको छ ।