एजेन्सी । हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यव वर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।
डिसेम्बर-८ मा आइएफजे ले आफ्नो प्रतिवेदन जारी गरेको छ । जसमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन् । आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको छ ।
आइएफजेका अध्यक्ष डोमिनिक पाराडेलीले भने, ‘पत्रकारहरूको सुरक्षाका लागि नयाँ विश्वव्यापी मापदण्ड र अझ प्रभावकारी अन्तर्राष्ट्रिय उपायहरूको आवश्यकता अहिले बढेर गएको छ ।’
पत्रकारका लागि गाजा बन्यो चिहान
आइएफजेका अनुसार इजरायल–हमास युद्धमा यो वर्ष ६८ पत्रकारले ज्यान गुमाएका छन् । अक्टोबर ७ बाट सुरु भएको यो युद्धमा दैनिक एकभन्दा बढी पत्रकारको मृत्यु भयरहेको छ। यो वर्षभरि हुने मृत्युको ७२ प्रतिशत हो ।
इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए ।
संगठनले भन्यो, ‘आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन ।’
अफ्रिका सबैभन्दा सुरक्षित
सन् २०२३ मा उत्तर र दक्षिण अमेरिकामा पत्रकारको हत्यामा कमी आएको प्रतिवेदनले जनाएको छ । गत वर्ष त्यहाँ २९ जना सञ्चारकर्मीले ज्यान गुमाएका थिए, तर यस वर्ष अहिलेसम्म सात पुगेको छ ।
अमेरिकामा एक, मेक्सिकोमा तीन र पाराग्वे, ग्वाटेमाला र कोलम्बियामा एक–एक पत्रकारले ज्यान गुमाएका छन् । यी पत्रकारहरूले सशस्त्र संगठन वा सरकारी कोषमा ठगीजस्ता मुद्दाहरूको अनुसन्धान गरिरहेका थिए ।
अफ्रिका पत्रकारहरूका लागि सबैभन्दा सुरक्षित महादेश साबित भएको छ। तर, आइएफजेले क्यामरुन र लेसोथोमा तीन पत्रकारको हत्याको विशेष उल्लेख गर्दै अहिलेसम्म यी घटनाहरूको अनुसन्धान नभएको बताएको छ ।
हाल यस वर्ष पक्राउ परेका ३९३ पत्रकार जेलमा छन्। तीमध्ये अधिकांश चीन र हङकङमा छन्, जहाँ ८० पत्रकार पक्राउ परेका छन् । म्यानमारमा ५४, टर्कीमा ४१, रुस र क्रिमियामा ४०, बेलारुसमा ३५ र इजिप्टमा २३ जना पत्रकार पक्राउ परेका छन् ।







