धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राई भन्न्े व्यक्तिले मुक्का हानेका हुन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर उनलाई एक्कासी मुक्का प्रहार गरेका हुन् ।एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले के कारण मुक्का हाने भन्ने बिषयमा खुलेको छैन ।
तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’







