फिदिम । पाँचथर सदरमुकाम फिदिममा ५० शैयाको पाँचथर अस्पताल उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पाँचथरलाई एकजना एनएसथेसिया डाक्टरको प्रबन्ध मिलाईदिने बताए । पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध समेत गर्ने उल्लेख गरे ।
‘देशमा चिकित्सा शिक्षा खत्तम भएको छ,’ बस्नेतले भने ‘त्यसलाई सुधार गर्न ५० शैयाको अस्पतालले नर्सिङ कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।,’ उनले तीन सय शैयाभन्दा माथिका अस्पतालले चिकित्सक उत्पादनका लागि एमबिबिएस कक्षा सञ्चालन गर्न पाउनुपर्ने तर्क गरे ।
नेपाल सरकारले सबै अस्पताललाई ५० शैयाको बनाउने नीतिगत निर्णय गरेको छ । उक्त नीति कार्यान्वयन भएका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्नुपर्ने बस्नेतको डोज थियो ।
२०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नथपिएकाले मुलुकमा चिकित्सकहरुको अभाव हुन थालेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने बस्नेतको तर्क छ ।‘एउटा व्यक्तिले थर्काएको भरमा सरकार डराएर नेपालको स्वास्थ्य क्षेत्र डामाडोल भएको छ,’ बस्नेतले भने ‘डामाडोल भएको स्वास्थ्य क्षेत्रलाई सुधार्न चिकित्सका शिक्षा ऐनमा सुधार गर्नुपर्छ ।’
बस्नेतले अबको छ महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा सुधार हुने तर्क गरे । ‘तपाईहरुले स्वास्थ्य क्षेत्रको प्रगती देखाएर भोट माग्ने अवसर पाउनुहुन्छ,’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर जनतालाई निराश बनाउने काम गर्दिन ।’







