इटहरी । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सुनसरीको रामधुनी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । रामधुनी नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।
त्यसैगरी, रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा माघ ८ गते सोमबार हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।
सोमबार कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ ।
सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राणप्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
यस्तै, अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम मन्दिरहरुमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् ।
गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ बिक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।