विराटनगर । मोरङको पथरीशनिश्चरेमा तीव्र गतिको कारले ठक्कर दिँदा शनिबार राति एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्व–लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा प्रदेश १–०१–००१ च ७९६४ नम्बरको कारले राति ९ बजेतिर पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले दुर्घटनामा पथरीशनिश्चरे–१० का ४३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले पैदल हिँडिरहेका बेला लिम्बूलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
कार र चालक झापाको दमक नगरपालिका–५ का ४२ वर्षीय घनश्याम रिजाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।