ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सरकारको एक वर्ष : परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा उपलब्धि

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, ११:५८ बजे
परराष्ट्रमन्त्री साउद भन्छन् – छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सरकार गठन भएको एक वर्षमा परराष्ट्र सम्बन्ध सञ्चालन र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण गतिविधि तथा उपलब्धि हासिल भएका छन् ।

यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकीलगायत विश्वका सबै मित्र राष्ट्रसँगको मैत्रिपूर्ण सम्बन्ध थप सुदृढ भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यस अवधिमा द्विपक्षीय भ्रमण तथा महत्वपूर्ण बैठक भएको जानकारी दिए ।

मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए ।

उक्त अवसरमा विभिन्न सात सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको तथा पाँच विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास सम्पन्न भएका थिए ।

द्विपक्षीय भ्रमण र बैठक

यसैगरी, मित्रराष्ट्र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्नुका साथै चीनको हाङ्जाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भए ।

सेप्टेम्बर २५ मा स्टेट काउन्सिलका प्रिमिएर लि छियाङसँगको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापश्चात् विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा परराष्ट्रमन्त्री साउदले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिक १२ देखि २८ सम्म अमेरिकाको भ्रमण गरे ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुका साथै सो अवसरमा नेपाल–अमेरिका सम्बन्धको सुदृढीकरण एवं द्विपक्षीय सहयोग विस्तारका सम्भावनाका बारेमा महत्वपूर्ण छलफल भएका थिए ।

त्यस्तै, गत मे ६ तारिखमा सम्पन्न संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी भएका थिए ।

सो अवसरमा उहाँले नेपाल–बेलायत सम्बन्धका विविध पक्षहरुमा छलफल गरेका थिए । बङ्गलादेशको ढाकामा गत बैशाख ३० गते सम्पन्न छैठौं ईन्डियन ओसन कन्फेरेन्समा परराष्ट्रमन्त्री साउद सहभागी भइ उक्त सम्मेलनमा सहभागी हुने क्रममा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग भेटवार्ता गर्नुका साथै आपसी हितका विभिन्न विषयमा छलफल गरेका थिए ।

यस्तै परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका परराष्ट्र सचिव विनय मोहन क्वात्राले फ्रेबुअरी १३ र १४ तारिखसम्म नेपालको भ्रमण गरेका थिए ।

उक्त अवसरमा अन्तरआबद्धता अभिवृद्धि, विद्युत् व्यापार, कृषि, स्वास्थ्यलगायत विविध विषयमा छलफल भएको थियो ।

यसैगरी बेलायतका ‘डिफेन्स पिपुल, भेट्रान्स एण्ड फेमिलिज मन्त्री एन्ड्रयु मोरिसनले गत माघ २६ गते नेपालको भ्रमण गरेका थिए ।

नेपाल र बेलायतले यस वर्षलाई नेपाल–बेलायतमैत्री सन्धि १०० वर्ष मनाइरहेका छन् । बेलायतका विदेश राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एनी मारी ट्रेभल्यानले नेपालको भ्रमण गरेका साथै प्रधानमन्त्री दाहालसँगको भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरेका थिए ।

यस्तै अमेरिकाका राजनीतिक मामिला सम्बन्धि उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले गत माघ २९ र ३० गतेसम्म नेपालको भ्रमण गरी नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका व्यापार, लगानी प्रवद्र्धनलगायतका विविध विषयमा छलफल गरेका थिए ।

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेननले गत माघ २५ गते नेपाल भ्रमण गरी युरोपियन युनियनको सहयोगमा कार्यान्वयन भइरहेका कार्यक्रमको अवलोकन र उच्चस्तरीय भेटघाट गरेका थिए ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ जुनझेङले नोभेम्बर ८ देखि ११ तारिखसम्म नेपालको भ्रमण गर्नुभएको र सो अवसरमा दुई सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालको कूटनीतिक सम्बन्ध स्थापनालाई विस्तार गर्दै लगिएको छ ।

नेपाल र मार्सल आइल्याण्डबीच गत जुन २३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरिएका मुलुकको सङ्ख्या कूल एक सय ८१ पुगेको मन्त्रलयको विवरणमा उल्लेख छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तरसंवाद, गोष्ठि र सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवधिमा युएसएआइडी प्रशासक सामन्था पावरले गत माघ २४ गते नेपाल भ्रमण गरी युएसएआइडीको सहयोगमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको अवलोकन एवं उच्चस्तरीय भेटघाट गरेका थिए ।

द्विपक्षीय परामर्श संयन्त्रका बैठक

नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठक गत चैत २३ गते बेइजिङमा सम्पन्न भयो । बैठकमा नेपाल–चीन सम्बन्धलाई अझ बलियो बनाउन उच्चस्तरीय भेटघाटको निरन्तरता, आर्थिक सहायता, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, सञ्जाल विस्तार तथा कृषि, शिक्षा, संस्कृति तथा जनस्तरमा सम्बन्ध विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।

नेपाल र युरोपेली संघबीच स्थापना भएको नेपाल–युरोपियन युनियनको संयुक्त आयोगको १४औँ बैठक गत माघ १८ गते बेल्जियममा सम्पन्न भयो ।

उक्त बैठकमा द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन, हवाई सुरक्षा, जनस्तरमा सम्बन्ध विस्तार, मानव अधिकार, जलवायु तथा वातावरणलगायतका विषयमा छलफल भएको थियो ।

नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक गत माघ ३ गते काठमाडौँमा सम्पन्न भएको थियो । बैठकमा नेपाल–फ्रान्स द्विपक्षीय व्यापार, लगानी, प्रविधि हस्तान्तरण, पर्यटन तथा कोभिड–१९ पछाडिको आर्थिक पुनःरुत्थानका विषयमा छलफल भएको थियो । नेपाल–बेलायत द्विपक्षीय कूटनीतिक संयन्त्रको छैटौँ बैठक २६ अप्रिल २०२३ मा बेलायतको लण्डनमा सम्पन्न भएको थियो । उक्त बैठकमा नेपाल–बेलायतबीचको द्विपक्षीय सम्बन्धका विकास सहायता, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, शिक्षा, मानव विकासका साथै भूतपूर्व गोर्खा सैनिका विषयमा छलफल भएको थियो ।

नेपाल–दक्षिण कोरिया द्विपक्षीय संयन्त्रको छैटौँ बैठक गत वैशाख १ गते सिओलमा सम्पन्न भएको थियो । उक्त बैठकमा नेपाल–दक्षिण कोरियाबीच व्यापार, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, शिक्षा, ऊर्जा, प्रविधि हस्तान्तरण र जनस्तरमा सम्बन्ध विस्तार गर्न समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । नेपाल–जापान द्विपक्षीय कूटनीतिक संयन्त्रको चौथो बैठक गत वैशााख ५ गते टोकियोमा सम्पन्न भएको थियो । बैठकमा नेपालको निर्यात व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, फोहर व्यवस्थापन, विपद् व्यवस्थापन, वैदेशिक रोजगारी व्यस्थापन विषयमा छलफल भएको थियो ।

यसैबीच यही पुस ६ गते नेपाल र श्रीलङ्काबीच संयुक्त आयोगको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, हवाई उडान विस्तार गर्ने, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग र बहुपक्षीय फोरममा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

बहुपक्षीय कूटनीतिको सञ्चालन

संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद विन रसिद अल मक्टौमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) को विश्व जलवायु कार्य सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल गत मङ्सिर १३ देखि १७ गते सम्म सहभागी भएका थिए । सम्मेलनमा उनले जलवायु परिवर्तनबाट नेपालजस्ता पर्वतीय मुलुकले भोग्नुपरेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायका सामु जोडदार रुपमा प्रस्तुत गरेका थिए ।

यसै अवधिमा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सेप्टेम्बर १७ देखि २१ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा सहभागी भएका थिए । उनले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै बहुपक्षीयताप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घको समयानुकुल सुधार तथा पुनः संरचना गर्नुपर्नेमा जोड दिएका थियो ।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले २९ अक्टोबरदेखि १ नोभेम्बरसम्म नेपालको भ्रमण गर्नुभएको थियो । महासचिव गुटेरेसले उच्चस्तस्तरीय भेटघाटका क्रममा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरीबी निवारणलगायत विषयमा छलफल गरेका थिए । साथै सो अवसरमा महासचिव गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले गत फागुन १९ गतेदेखि कतारको राजधानी दोहामा आयोजित संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित मुलुकको पाँचौ विश्वसम्मेलनमा सहभागिता जनाएको थियो । नेपालले ५ अप्रिल २०२३ देखि संयुक्त राष्ट्र सङ्घअन्तर्गत अतिकम विकसित मुलुकको ग्लोबल कोअर्डिनेशन ब्यूरो समूहको नेतृत्व लिएको छ ।

यसैगरी नेपाल संयुक्त राष्ट्रसङ्घको छ मुख्य परिषद्मध्येको एक ‘आर्थिक तथा सामाजिक परिषद्’मा सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको छ । गत ८ जुन २०२३ मा राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भयो ।

आर्थिक कूटनीति सञ्चालन र सेवा प्रवाह

बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्नमैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा गत अक्टोबर ३१ तारिखमा सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको थियो ।

त्यस्तै, गत वर्ष पुस १३ गतेदेखि नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ नाका द्विपक्षीय व्यापारका लागि खुला गरिएको थियो। हिल्सा–पुराङ नाका पनि एकातर्फ व्यापारका लागि खुला भएको थियो ।

गत अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलको किवुज अलुमिममा बिद्रोही हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीको उद्धारका लागि समन्वय गरिएको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री साउद स्वयम् इजरायल जानुभएको थियो भने सम्पर्कविहीन रहेका विद्यार्थी विपिन जोशीको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्धार र स्वदेश फिर्तिमा सहजीकरण गर्न कूटनीतिक पहल गरिएको छ । यसका लागि विदेशस्थित कूटनीतिक नियोगलाई अधिकतम परिचालन गरिएको छ ।

सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगको सक्रिय समन्वय र प्रयासमा सकुशल उद्धार गरिएको छ ।

राहदानी सेवा व्यवस्थित गरिएको छ । एक महिनाका लागि अग्रिम अनलाइन आवेदन फाराम खोल्न सुरू गरिएको छ । यसबाट राहदानीका लागि सेवाग्राहीको भीड उल्लेख्य मात्रामा घटाउन सकिएको छ ।

कन्सुलर सेवा विभागले गत साउन २१ गतेदेखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यसबाट सेवाग्राहीको पैसा र समय बचत हुनुका साथै विभागमा सेवाग्राहीको भीड उल्लेख्य मात्रामा घटाउन सकिएको छ ।

मन्त्री साउदले मन्त्रालय तथा मातहतका विभाग र विदेशस्थित नियोगबाट नेपाली नागरिकलाई प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन मन्त्रालयको सङ्गठन पुनःसंरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्य भइरहेको बताए ।

सोही सिलसिलामा पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णयसमेत भइसकेको र श्रम गन्तव्य भएका युरेपेली मुलुकमा समेत नेपाली राजदूतावास खोल्ने विषयमा प्रारम्भिक छलफल भइरहेको उनले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist