काठमाडौं । यस वर्षको सुक्खा मौसममा डढेलो बढ्ने चेतावनी दिइएको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा वनजंगलमा डढेलो धेरै लाग्ने र यस वर्ष हिउँदसँगै आगामी केही महिना पनि वर्षा कम हुने भएकाले डढेलो बढ्ने आकलन गरिएको हो ।
‘फागुनदेखि वैशाखसम्मको समयमा डढेलोको उच्च जोखिम हुन्छ । वैशाख दोस्रो साता अझ पिकमा पुग्छ,’ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले भने, ‘पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम थियो । यो वर्ष बढ्न सक्ने देखिन्छ ।’
वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. शिव वाग्लेले नेपालमा डढेलो प्रवृत्ति कृषि र वन पैदावारमा आधारित प्रणालीमा आधारित रहेको बताए । ‘पहिले उपभोक्ताले हरेक वर्ष वनजंगलबाट घाँस–दाउरा संकलन गर्थे, यसले डढेलो सल्कने वस्तु घट्थ्यो । अचेल खाना पकाउने ग्यास पुगेको छ, गाई पाल्न छाडे,’ प्राधिकरणले आयोजना गरेको डढेलो नियन्त्रणसम्बन्धी संवादमा महानिर्देशक वाग्लेले भने, ‘जंगलबाट दाउरा, घाँस संकलन नहुँदा थुप्रिएर बस्छ । दुई–तीन वर्ष थुप्रिएर बसेको दाउरा, स्याउलामा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्छ ।’ वनमा हरेक वर्ष डढेलो लाग्ने गर्छ । तर, कुनै ठाउँमा एकपटक डढेलो लागेमा लगत्तैको वर्ष ठूलो क्षेत्रमा फैलने सम्भावना कम हुन्छ, किनकि आगो सल्किने वस्तु कम थुप्रिएको हुन्छ ।
विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डढेलोले धनजनको क्षतिसँगै वायु प्रदूषण पनि बढाउने उल्लेख गरे । ‘०७७ मा देशभरका जंगलमा डढेलो लाग्दा काठमाडौं तुवाँलोले ढाकेको थियो । विद्यालय पनि बन्द गर्नुपर्ने स्थिति आयो,’ उनले भने, ‘डढेलो नियन्त्रणका लागि स्थानीय, जिल्ला र प्रदेशमा रहेका विपत् व्यवस्थापन समिति सक्रिय हुनुपर्छ । यो विषय प्राधिकरणको कार्यकारी समितिमा पनि लैजान्छौँ ।’
बर्सेनि दुई लाख हेक्टरमा लाग्छ डढेलो, सातजनाको ज्यान जान्छ
वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा डढेलोमा मात्र (बस्तीमा भएका आगलागीबाहेक) बर्सेनि सातजनाको ज्यान जाने गरेको छ । विपत् प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १९ वर्षमध्ये प्राप्त १७ वर्षको तथ्यांक हेर्दा डढेलोमा परी एक सय २६ जनाको ज्यान गएको छ भने एक सय १३ घाइते भएका छन् । वनमा लागेको डढेलो बस्ती पसेर एक हजार २९ घर जलेका छन् ।
सन् ०२३ मा मात्र डढेलोमा परी सातजनाको ज्यान गयो भने १७ घाइते भएका थिए । ४२ घर जलेका छन् । ०२२ मा तीनजनाको मृत्यु भएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष ११ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा बढी सन् २००९ मा डढेलोमा परी ४९ जनाको ज्यान गएको छ । डढेलोका कारण वन्यजन्तु र जैविक विविधतामा भएको क्षतिको हिसाब छैन ।
डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार डढेलो निभाउन गएकाहरूको पनि ज्यान जाने गरेको छ । चुरोट खाएर ठुटो त्यत्तिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । ‘नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ,’ उनले भने । (नयाँपत्रिका)







