इटहरी । पत्रकार कृष्ण भट्टराई (बहाब)माथि इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले हातपात गरेका छन् ।
इटहरीमा रहेर पत्रकारिता गर्दै आएका बहाबमाथि बिहीबार (आज) दिउँसो १२ बजेतिर नगर प्रहरीले हातपात गरेका हुन् ।
समाचार संकलन गर्न जाने क्रममा उनलाई नगर प्रहरी अर्जुन बस्नेत लगायतका नगर प्रहरीहरूले हातपात गरेका हुन् । उनीहरूले पत्रकारको मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदासमेत हातपात गरेको गरेको पीडित पत्रकारले बताएका छन् ।
पत्रकार भनेर परिचय दिँदापनि ‘पत्रकार होस् भने ठेगानमा बस्’ भन्दै धम्की दिएको पीडित बहाबले बताए । उनले कुटपिट गर्ने नगर प्रहरीलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिन गएको जनाएका छन् ।
यसैबीच पत्रकार सम्बद्ध संस्थाहरूले घटनाको विरोध जनाउँदै कडा कारवाहीको माग गरेका छन् ।

पत्रकार महासंघ सुनसरीले विज्ञप्ती जारी गर्दै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै आक्रमणको भएको बताउँदै दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।







