इटहरी । रंगहरूको पर्व फागु तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।
होलीका अवसरमा सरकारले आज तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अविर लगाएर होली पर्व मनाउँदैछन् ।
होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।
परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।
मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।